'मेरा जनता भोकले मर्न आँटे' भन्दै राउटे अगुवाको मुख्यमन्त्रीसँग गुहार

फाइल तस्बिर

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोखे।

गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक रु तीन हजार नपाउँदा खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती बिसाउन आएको उनले बताए । “मेरा जनता भोकले मर्न आँटे । म पनि भोकै यहाँ आएको छु”, उनले भने, “पेटभन्दा ठूलो केही छैन । सरकारले भत्ता र रासनपानी दिएर पठाउनु पर्यो ।”


Advertisement

उनले ४६ घर परिवारका सबैलाई खानका लागि चामल नहुँदा भोकले ठूलो समस्या बनाएको भन्दै जतिसक्दो छिटो सम्बोधन गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरे । आफ्नै कार्यकक्षमा भोकको समस्या बोकेर आएका राउटे अगुवा दिलबहादुरको टोलीलाई मुख्यमन्त्री शाहीले चिन्ता नलिन आग्रह गरे । उनले राउटेको ४६ घर परिवारका लागि प्रदेश सरकारले खानासहित ओतका लागि व्यवस्थित पाल उपलब्ध गराउने वचन दिए ।

राउटेले मुख्यमन्त्री शाहीलाई काठको कोसी र ठेकी उपहार दिएका थिए । त्यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई पनि उनीहरुले कोसी उपहार दिएका थिए । प्रदेश सरकारले केही रासनपानी दिएपछि खुशी भएर उनीहरू फर्केका थिए ।


Advertisement

सङ्घीय सरकारले प्रतिराउटे मासिक रु तीन हजार दिँदै आएकामा कर्णाली प्रदेश सरकारले चालु आवदेखि उनीहरुलाई मासिक रु दुई हजार भत्ता थपेको छ । मुख्यमन्त्री शाहीले राउटेलाई स्थायी घर निर्माण गरिदिने प्रस्ताव राख्दा अगुवा दिलबहादुरले आफ्नो फिरन्ते पहिचान मेटिने तर्क गरे । पछिल्लो समयमा उनीहरुलाई अस्थायी भए पनि पालको व्यवस्थित बास बनाउने योजना बनाइएको प्रदेश सरकारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्