०३ असार २०८३, बुधबार

तराईमा अपराधका अनेक रूप : घरायसी द्वन्द्वमा मारिँदै आफन्त !

चैत ५, २०७७
तराईमा अपराधका अनेक रूप : घरायसी द्वन्द्वमा मारिँदै आफन्त !

गएको फागुन ९ गते रूपन्देहीको मायादेवी गाउँपालिका– ३ की प्रेमा यादव गोठमा गाईवस्तुलाई घाँस हालिरहेकी थिइन् । नन्द र सासुलाई साँझको छाकका लागि साग टिप्न बारीमा पठाइन् । 

घर पुगेपछि नन्दले घ्यारघ्यार आवाज आएको सुनिन् । चिच्याउँदै आमालाई बोलाइन् । झ्यालबाट भित्र हेर्दा पंखामा प्रेमा र छोरी झुन्डिएको उनीहरूले देखे । जसोतसो भित्रबाट बन्द ढोका खोलेर नन्द र सासुले प्रेमा र बालिकालाई डोरीबाट फुकाले । 

उनीहरूले घटना सम्बन्धमा प्रहरीलाई खबर गर्न छाडेर बच्चीको शव नजिकैको खोलामा लगेर गाडिदिए । त्यसपश्चात मात्रै प्रहरीले घटनाबारे थाहा पाएको थियो । प्रहरीले घटनास्थल पुगी शंकास्पद स्थानमा खनेर हेर्दा बच्चीको शवमाथि केही पैसा चढाएर पुरिएको रहेछ । 

प्रेमाले आफ्नै छोरीको हत्या गरिन् । उनका  परिवारले उनलाई दोषी मानेर प्रहरीलाई खबर गर्नुको साटो बच्चीको शव सुटुक्क लगी गाडिदियो । घटना लुकाउन परिवार नै संलग्न भएपछि प्रहरीले हत्या अभियोगमा प्रेमासहित उनका घरका अन्य सदस्यलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

प्रहरीले अनुसन्धान बढाउदै जाँदा प्रेमाले गर्भवती भएको ७ महिनामा बच्चीलाई जन्म दिएकी थिइन् । बच्चा सातै महिनामा कसरी जन्मियो भन्ने जिज्ञासा गाउँले र आफन्तलाई रहिरहेको थियो । 

तर, बाहिर बोल्ने र सोधपुछ गर्ने प्रयास कसैले गरेका रहेनछन् । आफन्त र गाउँलेका अनुसार प्रेमा राम्री थिइन् । परिवारमा सधैँ माया पाइरहेकी प्रेमाले केही महिनाअघि फोनमा अर्का पुरुषसँग कुराकानी गरेको श्रीमान राजकुमारले थाहा पाए । 

उनको कुराकानीमा प्रेमाका साथी (प्रेमी)ले बच्ची आफ्नो भएको बताइरहेका थिए । त्यसपछि परिवारको इज्जतको डरले श्रीमानले कुरा दबाए । 

‘उनीहरूका कुरा सुन्दा प्रेमाले प्रेमीसँग जानका लागि छोरीको हत्या गरी आफू बाँचेर जाने योजना बनाएको देखिन्छ । प्रेमीले दुईजना मात्र भाग्न मिल्ने बताएकाले छोरीको हत्या गरेको हुन सक्छ,’ डीएसपी थापाले भने ।

***

रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिका– १३ कालिदहमा पुस १ गते राति करीब २१ वर्षीय सम्झना चाई घरमै जलेर आत्मदाह गरेको सूचना प्रहरीले पायो ।

प्रहरीलाई घटनामा केही आशंका लागेसँगै विभिन्न कोणबाट अनुसन्धान गर्न मृतकका श्रीमान् मुकेशलाई पक्राउ गरी अनुसन्धान थाल्यो ।

क्राइम सीन हेर्दा मृतकले आत्मदाह गरेको नभई हत्या भएको हुनसक्ने देखिएको थियो । उत्तानो अवस्थामा माथिको भाग मात्र जलेको, पोस्टमार्टममा पनि भित्री भागमा धुवाँ नगएको देखेपछि केही कारणले हत्या भएको पुष्टि गरे ।

तर, के कारणले हत्या भयो भन्नेबारे अनुसन्धान गर्दै जाँदा उनकै श्रीमान् मुकेशले दाइजोको लोभमा हत्या गरेको रहस्य खुल्यो ।

दाइजोका कारण हत्या भएको दाबी सहित माइती पक्षले इलाका प्रहरी कार्यालय लुम्बिनीमा जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको थियो ।

एक वर्षअघि उनीहरूबीच प्रेम विवाह भएको थियो । विवाह भएको ७ महिनामै जन्मिएको बालकको मृत्यु भएपछि उनीहरूबीच बच्चा र दाइजोको विषयलाई लिएर विवाद भउकाले श्रीमान्ले हत्या गरेको अनुसन्धानमा देखियो ।

चाईलाई प्रहरीले नियन्त्रणमा लिई ज्यानसम्बन्धी मुद्दा चलाइरहेको छ । 

श्रीमानले कोठाभित्र गई श्रीमतीलाई घाँटी बेरेर मारेको र बेडमै आगो लगाई भित्रबाट चुकुल बन्द गरी भेन्टिलेसनबाट बाहिर बासको सिँढी बनाई निस्केको स्वीकारेका छन् । 

***

रुपन्देहीकै गैडहवा गाउँपालिका वडा नम्बर ६ का २६ का दिनेश लोधको शव पुस १७ गते नजिकै गुलरिया सडकको पेटीनजिक फेला पर्‍यो । 

प्रहरीले लामो समय लगाएर अनुसन्धान गरेपछि घटनामा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ का रामवरण यादवको संलग्नता रहेको पुष्टि भयो ।

आफ्नी श्रीमतीसँग दिनेशले यौन सम्बन्ध राखेको थाहा पाएपछि हत्या गरेको यादवले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका निरीक्षक रवीन्द्र महतले घटनास्थलबाट उठाइएको प्रमाण, प्राविधिक पक्षको विश्लेषण लगायत अन्य अनुसन्धानबाट लोधको हत्या रामवरण यादवबाटै भएको खुल्न आएको बताए । 
...
ऋण मिनाहासहित बीमा रकम भुक्तानीको लोभमा रुपन्देहीको पतिजियामा भाइसँग मिलेर एक व्यक्तिले श्रीमतीको हत्या गरे । 

हत्यालाई दुर्घटना भन्दै प्रहरीमा सुचना दिने मृतकका श्रीमान् र देवरलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हत्याको आरोपमा अभियुक्तलाई सार्वजनिक गर्‍यो । 

दुईसाता अगाडि मात्रै जिल्लाको कोटहीमाई गाउँपालिका–१ पतिजियामा भएको सवारी दुर्घटनामा परी मृत्यु भएको भनिएको घटना योजनासहित हत्या भएको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो ।

सिपवास्थित झुलनीपुरदेखि मर्चवार जाने सडकमा पिकअपको ठक्करबाट महिलालाई ठक्कर दिई ब्याक गरेर पटकपटक गाडी चढाई महिला शक्त घाइते भएको अवस्थामा छ भन्ने सूचना इलाका प्रहरी कार्यालयले पाउनासाथ घटनाको अनुसन्धान शुरू गर्‍यो ।

मृतकका श्रीमान् शैलेशकुमार लोधले आफू छोरासहित मोटरसाइकलमा गइरहेको र नजिकै २ जना सवार अर्को मोटरसाइकल पनि रहेको भनी श्रीमान्ले सूचना दिएका थिए ।

जाहेरीमा लुटपाट भन्ने देखाए पनि श्रीमान्ले नै योजनाबद्ध रूपमा श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रारम्भिक चरणमा सवारी साधान र चालकलाई नियन्त्रणमा लिएपनि आवश्यक सोधपुछ र सवारी परीक्षणले दुवै अवस्था घटनास्थलमा नभएकाले दुर्घटना नभई हत्या भएको हुन सक्ने आंकलन प्रहरीले गरेको थियो । 

घटनालाई प्रहरीले दोस्रो चरणबाट अनुसन्धान गर्न श्रीमान् र घर परिवारलाई निगरानी र शंकास्पद व्यवहारले उनीहरूको संलग्नता रहेको पुष्टि गर्‍यो । 

अनुसन्धानबाट परिवारमा नै शंका भएपछि घटना भएको तेस्रो दिन अभियुक्त मृतकका पति शैलेशकुमार लोध र देवर राजेशकुमार लोधलाई प्रहरीले नियन्त्रणमा लिई ज्यानसम्बन्धी मुद्दा चलाइरहेको छ । 

मृतकको नाममा रहेको ऋण फिर्ता हुने र भारत तथा नेपालबाट करीब ४० लाखको बिमा रकम मृत्यु भएपछि पाउने लोभका कारण योजनाबद्ध रूपमा आफ्नो भारतीय कारले किचेर ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पैसाको लोभमा भाइले चलाएको गाडीबाट दाजुभाइ मिली हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

रुपन्देहीमा पछिल्लो सात महिनामा ७ वटा हत्याका घटना भएका छन् । अधिकांश सम्पत्ति तथा आर्थिक लोभका लागि आफन्तबाटै भएको अनुसन्धानबाट खुलेको डीएसपी थापा बताउँछन् ।  

salt training

कमेन्ट गर्नुहोस्