
प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीलाई सफल हुन नदिने बताएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरू सल्बलाइरहेका बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ इंगित गर्दै उनले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरूलाई युद्धमा लगाउनेहरू नै अहिले लोकतन्त्र र अग्रगामी कदमविरुद्ध लागेको दाबी गरे । झण्डै दुईतिहाइको पार्टी फुटाएर वर्तमान सरकार ठाल्नका लागि अरुसँग बिन्ती गर्दै हिँडेको भनी उनले प्रचण्डप्रति व्यंग्य गरे ।
उनले भने, ‘एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाई मन्त्री, प्रधानमन्त्री भइदेऊ न होऔ । शेरबहादुर जीलाई भेट्यो, दाइ प्रधानमन्त्री भइदिनुपर्यो । महन्थजीलाई भेट्यो ए दाइ प्रधानमन्त्री भइदिनुपर्यो । किन भन्दा कम्युनिस्ट सरकार ढाल्नुपर्यो क्या त्यसकारण शेरबहादुर भइदिनुपर्यो । यो देशलाई अगाडि बढाउन शेरबहादुरजी प्रधानमन्त्री बन्दिनुपर्यो । कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि । कम्युनिस्ट आन्दोलनको एकता बचाउन । यस्ता नक्कली कुरा गर्ने तत्वहरू अहिले पनि छन् । सल्बलाइरहेका छन्् । यी चुनौतीहरू अहिले पनि छन् तर तपाईंहरू ढुक्क रहनुहोस्, यस्ता छद्मभेषी, वामपन्थी विरोधी, कम्युनिस्ट विरोधी, प्रगति विरोधी, अग्रगामी आन्दोलन विरोधी, राष्ट्रियता, लोकतन्त्र विरोधी तत्वहरूलाई सफलता साथ अगाडि जान दिइने छैन । यिनका गलत र आपराधिक उद्देश्यहरू सफल हुन सक्ने छैन ।’
आफूहरूले जिताइदिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै उनले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिए ।
उनले भने, ‘सदस्यताबाट निष्कासन गरे धित पुर्याए हुन्छ । हामीले टाँसिदिएको जुँगा । अलिक दिनपछि त्यो जुँगा हामी निकाल्दिन्छौं त्यसपछि सक्कियो ।’
उनले नेकपा एमाले, कम्युनिस्ट, वामपन्थी र देश बनाउनेसँग नमिलेर दुईतिहाइको सरकार ढलाएर कम्युनिस्ट आन्दोलन समाप्त पार्न उद्यत रहेको दाबी गरे । माओवादी अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दै लोकतन्त्रविरुद्ध क्रान्तिका सपना देखाएर युद्धमा लागेको र कयौंलाई पीडा दिएकाहरू नै ‘मैले आफ्नालाई छोडेर अरुसँग मिलेछु’ भन्ने गरेको भन्दै प्रधानमन्त्रीले प्रश्न गरे, ‘झण्डै दुईतिहाइको पार्टी फुटाएर यो सरकार ढाल्नलाई कांग्रेससँग बिन्ती पत्र लिएर जाँदा आफ्ना छाडियो कि छाडिएन ? अन्त गइयो कि गइएन ?’