
म्यान्मारका सेनाले गरेको कूको विरोध गरिरहेका प्रदर्शनकारीहरूले शुक्रवार राष्ट्रिय एकता सरकारको घोषणा गरेका छन् ।
त्यसमा गत निर्वाचनका विजयी सांसद, कूविरोधी नेता र अल्पसंख्यक समुदायका मानिस पनि राखिएका छन् । उनीहरूको उद्देश्य देशबाट सैन्य शासन हटाउने र लोकतन्त्र पुनर्बहाली गर्ने हो ।
म्यान्मारमा फेब्रुअरी १ मा कू गरिएपछि भएका शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीहरूले हिंस्रक दमन गरेका छन् । हिंसामा परी ७०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
राजनीतिक नेताहरूले सैनिकहरू नभई आफूहरू वैध राजनीतिक अधिकारी भएको बताउन खोजेका छन् ।
‘जनसरकारलाई स्वागत गर्नुस्,’ पाका लोकतन्त्र कार्यकर्ता मिन को नाइङले १० मिनेटको भिडियो सम्बोधनमा बताए । त्यस सम्बोधनमा उनले राष्ट्रिय एकता सरकार गठन भएको घोषणा गरेका थिए ।
एकता सरकारको प्राथमिकतामा जनताको इच्छा परेको मिन को नाइङले बताए ।
‘यसलाई जरैदेखि उखेल्नुपर्ने भएकाले हामीले ठूलै बलिदान दिनुपर्नेछ,’ सैन्य जुन्तातर्फ संकेत गर्दै उनले बताए ।