
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधवार पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
सरकारलाई दिएको समर्थन नरहेको लगायत विषयमा बुधवार निर्णय हुने सम्भावना छ । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ताका लागि उपयुक्त समयको पर्खाइमा रहेको बताए ।
कांग्रेससँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताका लागि अलमाल गरिरहेको छ । मंगलवारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई आफूहरूको समर्थन नरहेको तर औपचारिक पत्र लेख्न मात्र बाँकी रहेको बताएका थिए ।