भारतमा कोरोना महामारीको संकट भएको बेलामा प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग बैठक गरेका छन् ।
बैठकपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बैठकमा सबै मुख्यमन्त्रीहरू मैनको पुतला बनेर बसेको बताइन् । मोदीले कसैलाई पनि बोल्न नदिएको र अपमान गरेको आरोप उनले लगाइन् ।
मोदीले कोरोनाको परिस्थितिका विषयमा १० राज्यका मुख्यमन्त्री र ५४ जना डीएमसँग भिडियो कन्फ्रेन्सिङमार्फत कुराकानी गरेका थिए । यस बैठकमा ममता पनि थिइन् ।
उनले पछि पत्रकार सम्मेलनमा बताइन्, ‘बैठकभरि मुख्यमन्त्रीहरू चुपचाप बसे । भाजपाका केही मुख्यमन्त्रीले अलिअलि बोले र प्रधानमन्त्री मोदीले फलाकिरहे । हामीलाई बोल्नै दिएनन् ।’
उनले थपिन्, ‘हामीले तीन करोड खोप चाहियो भनी माग राख्न खोजेका थियौं तर हामीलाई बोल्नै दिइएन । यसै महिना २४ लाख खोप पाइनुपर्ने थियो तर १३ लाख मात्र पाइयो ।’
बंगालमा खोप लगाउने दर निकै कम भएको तर पोजिटिभिटी रेट पनि घटेको ममताले बताइन् ।
उनले भनिन्, ‘राज्यहरूलाई बोल्न नदिने हो भने बोलाउनु नै किन ? बैठकमा बोल्न नपाइएकोमा मुख्यमन्त्रीहरूले विरोध गर्नुपर्छ ।’