
शनिवार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले भदौ ७–१० गतेसम्म गर्ने भनिएको महाधिवेशन ९ दिन पर सार्ने प्रस्ताव गरेको छ ।
कोरोना संक्रमणको जोखिमसँगै पार्टीको क्रियाशील सदस्यको टुंगो लगाउन नसकिएपछि पूर्व घोषित मितिलाई ९ दिन पर सरिएको हो ।
शनिवारको पदाधिकारी बैठकले आगामी भदौ १६ गते देखि १९ गतेसम्म महाधिवेशन गर्ने मिति केन्द्रीय कार्यसमितिमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
पदाधिकारी बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनको मिति सरेसँगै निर्वाचन केन्द्रित केन्द्रीय गतिविधि र जिल्ला नगरका अधिवेशनको पनि समय तालिका हेरफेर प्रस्ताव गरेको बताए ।
यसअघि असार ६ गते हुने भनिएको गाउँ नगर वडा अधिवेशन अब साउन ६ गते हुने प्रस्ताव गरिएको छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएको छ ।
१ भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भदौ १ र २ गते हुनेछ । पदाधिकारीले संशोधन प्रस्ताव गरेको समय तालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने प्रस्ताव गरिएको छ ।
कोभिड संक्रमणको जोखिम बढेसँगै नेपाली कांग्रेसले आफ्नो महाधिवेशनको डिजिटल प्रविधिमार्फत गर्न सकिन्छ भनेर कांग्रेस समर्थित युवा विद्यार्थीले भन्दै आएका छन् । कांग्रेसको केन्द्रीय तहको बैठकमा डिजिटल प्रविधिमार्फत महाधिवेशन गर्नेबारे कुनै छलफल नै भएको छैन ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ३ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाएको छ ।