शृंखलाको दोस्रो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डलाई न्युजील्यान्डले ८ विकेटले हराएको छ । पहिलो टेस्ट बराबरीमा टुंगिएकाले यस जीतसँगै न्युजील्यान्डले शृंखला समेत आफ्नो नाममा पारेको हो ।
एजबास्टनमा आइतवार सम्पन्न खेलमा न्युजील्यान्डले जम्मा ३८ रनको लक्ष्य पाएकोमा दुई विकेट गुमाएर जीत हासिल गरेको हो ।
टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङमा ३०३ रन बनाएको थियो । डेनियल लरेन्सले नटआउड ८१ रन बनाए भने रोरी बर्न्सले पनि ८१ रन नै बनाए ।
न्युजील्यान्डका लागि ट्रेन्ट बोल्टले २९ ओभरमा ८५ रन खर्च गरेर चार विकेट हात पारे । म्याट हेनरीको खातामा तीन विकेट रह्यो ।
जवाफमा न्युजील्यान्डले पहिलो इनिङमा ३८८ रन बनायो । विल योङले ८२, डेभोन कनवे र रस टेलर दुवैले ८०–८० रनको योगदान गरे ।
इंग्ल्यान्डका लागि स्टुआर्ट ब्रोडले ४८ रन दिएर चार विकेट हात पारे ।
८५ रनले पछि परेको इंग्ल्यान्डले दोस्रो इनिङमा एकदमै खराब प्रदर्शन गर्दै सबै विकेट गुमाएर जम्मा १२२ रन बनायो । मार्क वूडले सबभन्दा धेरै २९ रन बनाए ।
न्युजील्यान्डका बलरहरूले इंग्ल्यान्डका ब्याट्स्म्यानहरूलाई खुलेर खेल्न दिएनन् अनि लगातार विकेट लिइरहे । हेनरी र वाग्नरले तीन तीन अनि बोल्ट र एजाज पटेलले दुई दुई विकेट हात पारे ।
जम्मा ३७ रनको लक्ष्य पाएको न्युजील्यान्डले ११ ओभरभित्र जीत हासिल गरेको हो ।