
पार्टी विवाद समाधानको प्रयास स्वरुप नेकपा एमालेका दोस्रो तहका प्रभावशाली नेताहरूबीच कार्यदलले दिएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने सहमति भएको छ ।
पार्टी विवाद मिलाउन गठन भएको कार्यदलका सदस्यहरूबीच शनिवार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल भएको थियो ।
शुक्रवार बसेको स्थायी कमिटी बैठकले कार्यदलले असार २७ गते गरेको सहमतिको दस्तावेजलाई अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो ।
सोही कार्यदलका सदस्यहरूबीच १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने सहमति भएको हो ।
शनिवारको बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले कार्यदलले दिएको सुझावका आधारमा पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको जानकारी दिए ।
‘कार्यदलले दिएको १० बुँदे सहमतिलाई हिजो अनुमोदन पनि गरिएको छ । अनुमोदन गरिएको सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्दा नेकपा एमालेलाई एकताबद्ध बनाउन सकिनेमा हामी सबैको एकमत रह्यो,’ नेम्वाङले भने, ‘१० बुँदे सहमति कार्यान्वयनका लागि दुवै पक्षका नेताहरूलाई आग्रह गर्ने निष्कर्ष निकालेका छौ ।’
एमाले वरिष्ठ नेता माधव नेपाल पक्षले १० बुँदे सहमति कार्यान्वयनको लागि शुक्रवारको स्थायी कमिटी बैठक रोक्न आग्रह गरेको थियो । बैठक रोक्न माग गर्दै भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरू स्थायी कमिटीको बैठकस्थल पुगेका थिए । माधव नेपाल पक्षको उपस्थिति बिनै संसदीय दलको बैठक पनि बसेको थियो ।
‘सर्वोच्चको आदेशबाट प्रतिनिधि सभाको बैठक बस्ने भएकोले संसदीय दलको विधानको व्यवस्थाअनुसार हिजो बैठक बसेको हो, सहमति पत्रलाई अनुमोदन गर्नका लागि त्यसअघि स्थायी कमिटीको बैठक राखिएको हो,’ नेम्वाङले भने ।
एमाले सचिव गोकर्ण विष्टले पार्टीमा देखिएको विवाद समाधानको विषयमै छलफल भएको जानकारी दिए । छलफलमा संस्थापन पक्षको तर्फबाट उपमहासचिव विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत सहभागी थिए । यस्तै माधव नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, भुसाल र विष्ट लगायत नेताहरु सहभागी थिए ।
कार्यदलमार्फत सहमति गरेका दोस्रो तहका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनका लागि पार्टी अध्यक्ष केपी शर्मा अोली र नेता नेपाललाई भेटवार्ता गराउने कोसिस गरेका छन् ।
असार २३ गते ओली र नेपालबीच छलफल भएपछि कार्यदलले सहमति गरेको थियो । सर्वोच्चको आदेशबाट एमाले सत्ताबाहिर पुगेपछि ओली र नेपालबीच कुराकानी भएको छैन ।
असार ३० गते बालुवाटारबाट बालकोट सरेपछि अध्यक्ष ओलीले माधव नेपालका कारण अहिलेको परिस्थिति जन्मिएको भन्दै पार्टीमा माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ नभएको प्रतिक्रिया दिएका थिए ।
सो अभिव्यक्तिले सहमतिको प्रयास भाँडिन सक्ने भन्दै दोस्रो तहका नेताहरूले छलफल अगाडि बढाएका छन् ।