
टोक्यो ओलम्पिक अघि कसैले पनि आन्ना काइजनहोफरको चर्चा गरेका थिएनन् तर अहिले सबैले गरिरहेका छन् ।
अस्ट्रियाकी यी साइक्लिस्टलाई उनका प्रतिस्पर्धीहरूको तुलनामा सिकारु मानिएको थियो । हुन पनि उनका प्रतिस्पर्धीमा साबिक विजेता आन्ना भ्यान डर ब्रेगन, ओलम्पिकमा कास्य पदक जितेकी एलिसा लोंगो बोर्गिनी, पहिलेकी विश्वविजेता आन्नेमिएक भ्यान भ्लुटेन लगायत थिए ।
तर सन् २०१७ मा मात्र व्यावसायिक खेल शुरू गरेकी काइजनहोफरलाई यसले कुनै फरक परेन ।
उनले १४७ किलोमिटर लामो साइक्लिङको कोर्स पूरा गरिन् । त्यसक्रममा उनले उखरमाउलो गर्मी र आद्र्रतालाई पार गर्दै अस्ट्रियालाई सन् १८९६ पछि पहिलोपटक ओलम्पिकको स्वर्ण पदक दिलाइन् ।
अपेक्षाको बोझले नथिचिएकी काइजनहोफरले चार घन्टाभन्दा कम समयमा रेस पूरा गरेकी थिइन् । रजत पदक जित्ने भ्यान भ्लुटेनभन्दा उनी ७५ सेकेन्ड अगाडि रहिन् ।
उनले स्वर्ण पद जितेको थाहा पाएपछि हावामा हात उठाएकी थिइन् र आफ्नो टोली भए ठाउँमा भएर खुशीको आँसु चुहाएकी थिइन् ।
काइजनहोफरले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट गणितमा स्नातकोत्तर तथा बार्सिलोनाको पोलीटेक्निक विश्वविद्यालयबाट प्रायोगिक गणितमा विद्यावारिधि गरेकी छन् । उनी खेलका लागि तयार रहन आफैं तालिम, पोषण र रणनीतिमा संलग्न रहन्छिन् ।
‘गणितज्ञका रूपमा तपाईंले आफैं हल निकाल्नुपर्ने हुन्छ, साइक्लिङमा पनि म त्यही उपाय अपनाउँछु,’ उनले बताइन् ।
परिवारका अन्य सदस्यले खासै साइक्लिङ नगरे पनि आफूलाई भरपूर सहयोग गरेको उनको भनाइ छ ।