अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले हिन्द–प्रशान्त क्षेत्रमा चीनले गरेको दाबी तथा कारवाहीबाट यस क्षेत्रका मुलुकहरूको सार्वभौमसत्ता जोखिममा परेको बताएका छन् ।
वाशिङटनले चाहिँ सबै मुलुकको हित प्रत्याभूति गर्नका लागि मित्रता विस्तार गर्न खोजेको उनको भनाइ छ ।
‘बेइजिङले दक्षिण चीन सागरको अधिकतर क्षेत्रमा दाबी गर्नुको कुनै अन्तर्राष्ट्रिय कानूनी आधार छैन । त्यस दाबीले उक्त क्षेत्रका राज्यहरूको सार्वभौमसत्तामा हस्तक्षेप गर्छ,’ अस्टिनले सिंगापुरमा रहेको इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजमा सम्बोधनका क्रममा मंगलवार बताए ।
चीनले दक्षिण चीन सागरको १३ लाख वर्गमाइल क्षेत्रमध्ये लगभग सबैमा दाबी गरेको छ ।
चीनको अर्घेल्याइँ दक्षिण चीन सागर बाहेक अन्यत्र पनि देखिएको अस्टिनले बताए ।
‘शान्तिपूर्वक विवाद समाधान गर्ने तथा विधिको शासनको सम्मान गर्ने विषयमा बेइजिङको अनिच्छा जलक्षेत्रमा मात्र सीमित छैन । उसले भारतविरुद्ध आक्रामकता देखाएको छ, ताइवानीहरूलाई जोरजुलुम गरेको छ अनि सिन्ज्याङमा उइगुर मुसलमानहरूका विरुद्ध नरसंहार र मानवताविरुद्धको अपराध गरेको छ,’ उनले बताए ।
तर त्यति हुँदाहुँदै पनि अमेरिकाले चीनसँग सैन्य द्वन्द्व नचाहेको अस्टिनको भनाइ छ ।
‘हाम्रो हितमा आघात गरिएमा हामी पछि हट्ने छैनौं । तर हामी भिडन्त गर्न खोज्दैनौं,’ उनले बताए ।
‘म स्पष्ट हुन चाहन्छु, चीनसँग सिर्जनात्मक र स्थिर सम्बन्ध कायम गर्न म प्रतिबद्ध छु,’ उनले बताए ।
तर बाइडन प्रशासनले सत्ता सम्हालेको ६ महिना बितिसक्दा वाशिङटन र बेइजिङको सम्बन्ध झन् झन् बिग्रिएको छ ।