
लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश प्रमुख धर्मनाथ यादवलाई लुम्बिनी सरकारले बिदाइ गरेको छ। उनलाई मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान बिदाइ गरेका हुन्।
यादवलाई मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले मंगलवार पदमुक्त गरेकी थिइन् ।
नयाँ सरकार गठनपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बिनी प्रदेश प्रमुख यादवलाई हटाएर उनको स्थानमा गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई नियुक्त गरेको छ ।
पार्टी एकतापूर्वको तत्कालीन एमाले र माओवादीको भागबण्डाका आधारमा १८ कात्तिक ०७६ मा लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।
नेपाली कांग्रेसले ७ माघ ०७४ मा प्रथम प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नियुक्त गरे पनि ओली नेतृत्वको सरकारपछि यादवलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।
साढे २ वर्ष प्रदेश प्रमुख बनेर बाहिरिएका यादव कार्यकालको उत्तरार्द्धतिर आलोचित बने । यतिसम्म कि विपक्षी गठबन्धनले उनलाई ‘पार्टीको अमूक कार्यकर्ता’को संज्ञा दियो ।
विपक्षी गठबन्धनले यादवले अल्पमतका मुख्यमन्त्रीलाई नियुक्ति दिएको आरोप लगाउँदै आएको छ ।
६ वैशाखमा विपक्षी गठबन्धनले प्रदेश सभामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि १९ वैशाखमा प्रदेश सभाको बैठक आह्वान भएको थियो ।
तर, मुख्यमन्त्री पोखरेलले त्यही दिन बिहान पदबाट राजीनामा दिए भने साँझ पुनः मुख्यमन्त्री नियुक्त भए ।
दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त हुँदा प्रदेश प्रमुख यादवले बहुमत नहेरी ‘राजनीतिक आस्था’कै आधारमा पोखरेललाई नियुक्ति दिएको आरोप विपक्षी गठबन्धनको छ ।