२२ असार २०८३, सोमबार

नेपाली सेनामा नेतृत्व हस्तान्तरण : के बुझाएर जाँदैछन् प्रधानसेनापति थापा ?

नेपाली सेनामा नेतृत्व हस्तान्तरण : के बुझाएर जाँदैछन् प्रधानसेनापति थापा ?

मंगलवार बसेको मन्त्रिपरिषद्ले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई  कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

नेपाली सेनामा अवकाश हुनुभन्दा एक महिना अगाडि हुन लागेका प्रधानसेनापतिलाई कार्यभार हस्तान्तरण गर्ने परम्परा छ । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २ गते आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमै पत्रकारहरूसँग सेनाको नेतृत्व हस्तान्तरण गरेको बताएका थिए ।

आगामी भदौ २४ गतेपछि प्रधानसेनापति पूर्णचन्द्र थापा अनिवार्य अवकाश लिएर जाँदैछन् । 

४३ औं प्रधानसेनापतिको रुपमा आएका थापाले आफ्नो कार्यकालमा राम्रा काम गरेर सफल भएको दाबीसमेत गरेका छन् । र, केही उदाहरणीय कामहरू गरेर जाँदैछन् । आगामी दिनमा हुने प्रधानसेनापतिलाई त्यही छबि बनाइराख्न राख्न चुनौती छ । 

सेनापति थापाले आफूले नेतृत्व सम्हालेसँगै सेनामा हुने भ्रष्टाचारलाई चिर्ने सन्देश दिँदै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । उनले अन्य सैनिक अधिकृतहरूलाई अनिवार्य नगरे पनि नैतिक दबाब भने देखियो ।

त्यसपछि उनले सेनामा पारदर्शी भर्नाको शुरुआत गरेका थिए ।

नक्कली परीक्षार्थी रोक्न उनले बायोमेट्रिक प्रणालीको शुरूआत गरेका थिए । पहिलेका वर्षमा तीन हजार ५०० भर्ना हुँदै आएकोमा उनको कार्यकालमा १६ हजार ६४६ जना नयाँ गरेर सेनाको क्षमतामा विस्तार गरेका थिए । भर्ना छनौट आचारसंहितासमेत ल्याएका थिए । 

सेनापति हुँदादेखि नै सेना भएको अनियमिततालाई रोक्ने अभियान थालेका उनले आफ्नो कार्यकालमा रथीसहित तीन हजार ८०० जनालाई कारबाहीसमेत गरेका छन् । 

सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई पनि थापाको कार्यकालमा सैनिक अदालतले बर्खास्त गर्‍यो । यी बाहेक आइतवारसम्ममा १६१ जना रथीसहितका अधिकारीहरू कारबाहीमा परेका छन् । 

पदिक तथा अन्य दर्जाका तीन हजार ६४२ जनालाई कारबाही भएको छ । 

पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका नै तयार गरेर लागू गरिएको छ।

उनले आफ्नो कार्यकालमा सेनाको सांगठनिक संरचना परिवर्तन गरेका छन् । आठवटा पृतनामा आधारित संरचनालाई परिवर्तन गरेर चार वटा कमाण्डमा चल्ने बताएका छन् । 

सातवटा पृतना र उपत्यकामा एउटा गरी ८ वटा पृतना थिए । अब बन्ने सबै कमान्डलाई समान स्रोतसाधन उपलब्ध गराइने छ । हरेक कमान्डमा एयर बेस, लजिस्टिक बेस र अस्पताल रहनेछन् । 

अर्को उनको कार्यकालमा भएको महत्त्वपूर्ण काम भनेको सिपाहीलाई १६ वर्ष मै पेन्सन दिने हो ।

सेनामा लामो समयदेखि उठ्दै आएको निवृत्तिभरणको पुनरावलोकनको मागलाई पूरा गरेका छन् । 

२०६० साल पहिले १७ वर्षमा पेन्सन पाउने व्यवस्था थियो । तर पछि २० वर्ष पुर्‍याइयो ।

प्रधानसेनापति थापाले त्यसलाई १६ वर्षमा झारिदिए । २०७७ पुस २९ गतेबाट नयाँ व्यवस्था कार्यान्वयनमा आयो, जसले सेनाको तल्लो दर्जालाई पनि उत्साहित बनाएको छ ।

यसका अलावा उनले शान्ति सेना छनोटमा पारदर्शीता, अस्पताल विस्तार, शैक्षिक लगानीमा विस्तार, सफा हिमाल अभियान, दीर्घकालीन राष्ट्रिय सुरक्षा योजना तयारलगायतका काम गरेर सेनापति थापा अवकाश लिँदैछन् । 

अब उनले नयाँ प्रधानसेनापतिको रुपमा रथी प्रभुराम शर्मालाई कार्यभार हस्तान्तरण गर्नेछन् । 

को हुन् शर्मा ?

आगामी भदौ २५ मा हुन लागेका नयाँ प्रधानसेनापतिले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् । भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका अब्बल सेना उच्च अधिकृत हुन् ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी नेपाली सेनाको भएकाले आगामी प्रधानसेनापति शर्माले पनि यसलाई निरन्तरता दिनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्