
पार्टी एकता चाहेको बताउने अनि सत्ता गठबन्धनको बैठकमा पनि सहभागी भइराख्ने एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कदमले धेरैलाई अचम्मित बनाएको छ ।
नेता नेपालको यस्तो कदमले उनकै समूहको भनिएका प्रभावशाली नेताहरू समेत अन्योलमा छन् ।
पार्टीको आन्तरिक विवाद मिलाउन भन्दै लागिपरेका नेताहरूले नै माधव नेपाल खासमा के चाहन्छन् भन्ने भेउ पाउन नसकेको भान हुन्छ ।
अन्य नेता तथा कार्यकर्ता पार्टी विवादलाई लिएर जति अन्योलमा छन्, माधव नेपाल त्यति नै आफ्नो रणनीतिमा प्रस्ट रहेको उनीनिकट एक नेताको दाबी छ ।
सोही कारण नेता नेपालले सत्ता गठबन्धनमा सहभागिता कायमै राखेर पार्टी एकताको बैठक पनि रोकेका छैनन् ।
कि त गठबन्धन, कि त पार्टी रोज्नुपर्ने भनी उनलाई तीव्र दबाब छ, तर नेपाल आफ्नो ‘भिजन’मा यति ‘कन्फिडेन्ट’ देखिएका छन् कि यस सबालमा कसैको कुरा सुन्नै चाहँदैनन् ।
उनी निकट एक नेताको भनाइ मान्ने हो भने पार्टी विवाद समाधानका लागि नेता नेपालले एउटै मात्र सूत्र तय गरेका छन्– आफूमा पनि राजनीतिक र प्रशासनिक अधिकार रहने गरी सम्मानजनक एकता ।
त्यसमा मात्रै नेता नेपालले आफ्नो र आफ्नो समूहका नेताहरूको राजनीतिक भविष्य देखेका छन् ।
पार्टीमा समानान्तर गतिविधि र सत्ता गठबन्धनसँगको सहकार्यबाट संस्थापन पक्ष(अध्यक्ष केपी शर्मा ओली)लाई गलाउने र पार्टीमा राजनीतिक तथा प्रशासनिक हैसियत स्थापित गर्ने नेपालको रणनीति देखिन्छ ।
आफ्नो रणनीति स्थापित गर्नकै लागि नेपाल अहिले सत्ता गठबन्धनको बैठकमा सहभागी भइरहेका छन् ।
गठबन्धनसँग उनले आफ्नो भागमा आउने मन्त्री र राजनीतिक नियुक्तिमा हिस्सेदारी दाबी गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भनेर पार्टी बैठकमै ब्रिफिङ गरेको यही कारण हो ।
मंगलवार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल पक्ष पनि सरकारमा सहभागी हुने बताएका थिए ।
पछिल्लो समय दुईवटा डुंगामा खुट्टा राखेर गन्तव्यतर्फ अगाडि बढेका नेता नेपालले यही बीचमा आफ्नो पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक राखेर सम्मानजनक एकताका लागि पहल गर्ने निर्णय गराएका छन् ।
सोमबार बानेश्वरको क्लालिटी ब्याङ्केटमा आयोजित बैठकमा आफूपक्षीय स्थायी कमिटी सदस्यहरूसँग नेपालले स्पष्टसँग भनेका छन्, ‘केपी ओलीले दिने दोस्रो अध्यक्ष लिन म जान्न । राजनीतिक र प्रशासनिक अधिकारसहितको अध्यक्ष दिन्छन् भने जो गए पनि हुन्छ । व्यक्तिको कुरा हुन्न । तर, उनले त्यस्तो अधिकार दिन्छन् भन्ने मलाई लाग्दैन ।’
यसअघि पार्टी अध्यक्ष ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिने संकेत मात्र गरेका थिएनन्, ‘आममाफी’ दिने घोषणा पनि गरेका थिए । यसको प्रतिवाद नेपालले सार्वजनिक रूपमा नै गरिसकेका छन् ।
माधव नेपालको बुझाइ छ, अहिले ओलीले तत्कालीन समस्या समाधानका लागि मात्र पार्टी एकता चाहेका छन् । अहिले टालटुल गरेर पार्टी मिलाउने अनि सत्ता गठबन्धनबाट अलग गराएपछि पेलेर अगाडि बढ्ने ओलीको रणनीति रहेको उनको बुझाइ छ ।
ओलीसँग आत्मसमर्पणको शैलीमा एकता गर्दा आफू मात्र होइन आफ्नो समूहका नेता कार्यकर्ताको राजनीतिक भविष्य नै समाप्त गरिदिन्छन् भन्ने डर नेपाललाई छ ।
त्यसैले पार्टी निर्णय कार्यान्वयनदेखि आगामी निर्वाचनमा टिकट दिँदा समेत आफ्नो पनि हस्ताक्षर लागू गराउने गरी ‘राजनीतिक र प्रशासनिक प्राधिकार’ नेपालले चाहेका छन् ।

राजनीतिक भविष्य सुनिश्चितताका लागि नेपालले दोस्रो तहका नेतामार्फत अर्को विकल्प अघि सारेका छन्– अध्यक्ष मण्डल वा सचिवालय बनाउने । केपी ओली निरन्तर सात वर्ष अध्यक्ष बनेको र अब पनि अध्यक्ष रहिरहन नहुने तर्क नेपालको छ ।
त्यसका लागि महाधिवेशनसम्मलाई अध्यक्ष मण्डल बनाउन सकिने विकल्प उनले अगाडि सारेका छन् ।
दोस्रो अध्यक्षको चर्चा गराएर पद लोलुप देखाउन खोजेको ठम्याइसहित नेपालले त्यसलाई चिर्न आफू बाहेकको अध्यक्ष मण्डल प्रस्ताव गरेको स्रोतको दाबी छ । अध्यक्ष मण्डलमा ओलीका अलावा वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलाई राख्न सकिने उनको प्रस्ताव छ ।
अध्यक्ष मण्डलमा खनाल र गौतम हुँदा आफ्नो समूहको राजनीतिक भविष्य सुरक्षित हुने नेपालले ठानेका छन् । नेपाललाई उद्धृत गर्दै दोस्रो पुस्ताका एक नेताले भने, ‘मलाई पद चाहिएको होइन । तीन नेताको सचिवालय बनाउन पनि सकिन्छ । त्यसमा म रहनुपर्दैन । केपी ओली, झलनाथ खनाल, वामदेव गौतमलाई राख्दा भयो ।’
एमालेमा माधव नेपाल समूहलाई बेवास्ता गरेर अघि बढ्दा केही राजनीतिक र कानूनी अड्चन आइलाग्ने ओलीले बुझेका छन् । उस्तै परे राष्ट्रपति विद्यादेवी भण्डारीको समेत अपमानजनक बहिर्गमनको अवस्था आउनेमा ओली सचेत छन् । माधव नेपाल समूहले यसैलाई पार्टीमा आफ्नो राजनीतिक अधिकार स्थापित गर्ने अवसरको रूपमा प्रयोग गरिरहेको छ ।
पार्टी विवाद समाधान गर्नका लागि दुवै पक्ष लागिरहेको भए पनि कसको हात माथि पार्ने भन्ने रस्साकस्सी पछिल्ला दिनमा देखिएका छन् ।
अहिले सहज रूपमा संस्थापन पक्षका कुरा मानेर अघि बढ्ने हो भने चुनावमा नेपाल पक्षका नेताले टिकट नै नपाउने अवस्था आउन सक्छ । पार्टीमा ओलीले पेल्न सक्ने आंकलनले नै माधव नेपालले ओलीले एकलौटी रूपमा बहुमत स्थापित गरेको पार्टीको निर्णय नमान्ने बताएका छन् ।
नेपालको चिन्ता तीनै तहका आसन्न निर्वाचनका लागि टिकट बाँडफाँडसम्म छ भन्ने कुरा उनीपक्षीय सांसद मेटमणि चौधरीको भनाइले पनि पुष्टि गर्छ ।
‘केपी ओली कुनै हालतमा पार्टी विवाद मिलाउनै चाहँदैनन् । उनले त आन्दोलन सिध्याउने प्रतिबद्धता गरेजस्तो लाग्छ । उनैलाई पार्टी अध्यक्ष मानेर आगामी दिनमा चुनावमा जाँदा त धुलोपिठो हुने बाहेकको विकल्प छैन,’ चौधरीले लोकान्तरसँग भने ।
संसद् विघटन र राजनीतिक अस्थिरता निम्त्याएको दोष आफूमा लिन केपी ओली तयार भए मात्रै अरू विकल्पमा छलफल हुन सक्ने चौधरीको बुझाइ छ । जुन तत्काल सम्भव देखिन्न ।
‘अब केपी ओलीलाई नेता मानेर पार्टी एकता हुँदैन । विगतको गल्ती जस्ताको तस्तै लिएर जनतामा जाँदा उनीहरूले हामीलाई किन मत दिन्छन् ? ओलीको बदमासीको जस्टिफाइ कसरी हुन्छ ?’, चौधरीले भने, ‘पार्टी र संसद् दुवैमा बहुमत स्थापित गर्छौं र ओलीलाई बिदा गर्छौं ।’
बुधवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा माधव नेपालले आफ्ना प्रतिनिधिको रूपमा डा. विजय पौडेललाई सहभागी गराए ।
सरकारमा सहभागी हुने, राजनीति नियुक्तिमार्फत कार्यकर्ता आकर्षित गर्ने र पार्टी तथा संसदीय दलमा क्रमशः संख्या बढाउँदै लैजाने रणनीति माधव नेपालले अपनाएका छन् ।
सरकारमा रहँदा आफ्नो राजनीतिक शक्ति बलियो हुने र पार्टी संस्थापनलाई थप दवाबमा राख्न सकिने आकलनमा नेपाल देखिन्छन् ।
सम्बन्धित समाचार
प्रशंसा, आलोचना र समीक्षाको भुमरीमा माधव नेपालले 'रिमेक' गरेको छवि