
प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
विश्व बाघ दिवसको अवसरमा बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
उनले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले बाघ र मानिसबीच समस्या रहेको भन्दै ती समस्याहरूको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताए ।
उनले भने, ‘बाघको लागि जंगल आवश्यक छ । जंगल र बाघ एकअर्काको लागि आवश्यक कुरा हुन् । बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताए ।
उनले आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरू राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुने गरेको बताए । उनले प्रधानमन्त्री देउवालाई काबिल र रचनात्मक सहयोगीहरू राख्न पनि सुझाव दिए ।
उनले भने, ‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदो रहेनछ । सहयोगी, सहयोद्धाहरू पनि त्यस्तै काबिल चाहिन्छ । समर्पित चाहिन्छ । रचनात्मक चाहिन्छ ।’
उनले बाघको रक्षामा सबैले ध्यान पुर्याउनुपर्ने बताए । प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उनले बताए ।