
नेकपा एमालेको आन्तरिक विवाद समाधानको प्रयासले सार्थकता नपाइरहेका बेला वरिष्ठ नेता माधव नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको छ ।
विवाद समाधानको अन्तिम प्रयास भइरहेको भनिए पनि एमालेका दुवै पक्ष निष्कर्षमा पुग्न सकेका छैैनन् । विवाद समाधानका लागि भएका प्रयासकै बारेमा छलफल गर्न बैठक बोलाइएको माधव नेपाल पक्षका एक नेताले बताए ।
उनले भने, ‘स्थायी कमिटीका नेताहरूलाई बैठकमा बोलाइएको छ । बानेश्वरको कुनै ठाउँमा बैठक बस्दैछ । विवाद समाधानमा भएका प्रयासकै बारेमा छलफल गर्ने एजेण्डा छ ।’
एमालेको आन्तरिक विवाद समाधानका लागि वरिष्ठ नेता माधव नेपालले अध्यक्ष ओलीसँग समान हैसियतको अधिकार मागेका छन् । ओलीले नेपाललाई समान हैसियतको अधिकार दिन नसकिने बरू दोस्रो अध्यक्ष बनाउन सकिने बताउँदै आएका छन् ।
एमालेको विवाद समाधानको लागि सुझाव दिन ओली र नेपाल दुवै पक्षले बनाएको तर, अहिले विघटन भइसकेको कार्यदलका नेताहरू दुई नेतालाई पार्टीको विवाद समाधान गर्न दबाब दिइरहेका छन् ।
एमाले अध्यक्ष ओली पक्षको पनि साउन १६ गते देखि स्थायी कमिटीको बैठक निरन्तर चलिरहेको छ । सोमवार बसेको स्थायी कमिटी बैठकले असोज ९ भित्रमा स्थानीय तहको अधिवेशन सक्ने कार्यतालिका तयार गरेको छ ।