
अमेरिकी अधिकारीहरूले तालिबानलाई अफगानहरूको सूची बुझाएपछि विवाद उठेको छ ।
अमेरिकी सेनालाई सहायता गर्ने अफगानहरूको सूची तालिबानलाई बुझाउँदा उनीहरूको ज्यान जोखिममा परेको बताइएको छ ।
तालिबानले काबुल नियन्त्रणमा लिएपछि अमेरिकी अधिकारीहरूले उक्त समूहलाई अमेरिकी नागरिक, ग्रीन कार्डधारी तथा अफगान साझेदारहरूको नामको सूची दिएका थिए । उक्त सूचीमा रहेका व्यक्तिहरूलाई तालिबान नियन्त्रणमा रहेको क्षेत्रमा प्रवेश गर्न दिइएको छ ।
अमेरिकी सेनालाई सहायता गर्ने अफगानहरूलाई तालिबानले कठोर मृत्युदण्ड दिने गरेको इतिहास हुँदाहुँदै अमेरिकी अधिकारीहरूले यस्तो सूची बुझाएका हुन् ।
अफगानिस्तानबाट दशौं हजार मानिसलाई सुरक्षित रूपमा बहिर्गमन गराउनका लागि यस्तो कदम चालिएको बताइएको छ ।
विमानस्थल बाहिरको सुरक्षाका लागि बाइडन प्रशासन तालिबानमा निर्भर छ ।
काबुल नियन्त्रणमा आएपछि लगभग एक लाख मानिसलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । उनीहरूले तालिबानका कैयौं चेकपोइन्ट भएर जानुपर्ने हुन्छ ।
तर मानिसको नाम तालिबानलाई बुझाइँदा अमेरिकी सांसद र सैन्य अधिकारीहरू रिसाएका छन् ।
राष्ट्रपति बाइडनलाई यस विषयमा सोध्दा उनले अनभिज्ञता प्रकट गरे ।