२१ जेठ २०८३, बिहीबार
आकस्मिक मौका

लुम्बिनीमा सांसद मुडभरीको ‘मुभ’

भदौ २६, २०७८
लुम्बिनीमा सांसद मुडभरीको ‘मुभ’

प्रदेश सभाको पहिलो कार्यकालको उत्तराद्र्धमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सौभाग्यले निर्मला मुडभरी सांसद बनिन् ।

जसपा विवादले निर्मलालाई संसद प्रवेश गर्ने ढोका ‘ओपन’ भयो । उनै मुडभरीलाई सांसद बन्छु भन्ने समेत कल्पना थिएन ।
 
पार्टीको ह्वीप उल्लघंन गरेको भन्दै अध्यक्ष उपेन्द्र यादव नेतृत्वले समानुपातिक सांसद कल्पना पाण्डेलाई पदमुक्त गरेपछि रिक्त पदमा घरायसी कामकाजमै जीवनको ४८ वर्ष बिताएकी निर्मला ‘मुभ’ भएकी हुन् । रूपन्देहीको सियारी गाउँपालिका–५ छपियाकी मुडभरीलाई समानुपातिकतर्फ खस–आर्य समूहबाट पार्टीले सांसद चयन गरेको छ ।

उनी पार्टीमा सक्रिय राजनीति गरेको व्यक्ति भने होइनन् । भैरहवामा हार्डवेयर व्यवसाय गर्ने मुडभरी र उनका पति महादेव भट्टराईले तत्कालीन समाजवादी फोरम हुँदादेखि नै पार्टीमा योगदान पुर्‍याउँदै आएका थिए । 

समानुपातिकतर्फ मुडभरीको नाम तेस्रो नम्बरमा थियो । पहिलो बिन पन्तलाई पार्टीले सांसद सिफारिस गरे पनि उनी प्रदेशसभा सदस्यको रूपमा आइनन् । लामो समयपछि पार्टीले पन्तको ठाउँमा पाण्डेलाई पठायो । २ वर्षमै पाण्डे पनि पदमुक्त भएपछि पहाडकी चेलीले तराईबाट सांसद बन्ने अवसर पाइन् । यस्तो बेला आफूलाई सांसद पद ऐतिहासिक रूपमा आएको मुडभरीले बुझेकी छन् । 

‘घरमै घरायसी कामकाजमै थिए । पार्टी अध्यक्ष उपेन्द्र यादवज्यूले फोन गरेर ल निर्मलाजी सांसद बन्नुभयो बधाई छ भन्नुभयो । म त धन्यवाद हजुर मात्र भने, अरू केही बोल्नै सकिनँ,’ निर्मलाले भनिन् । 

प्रदेश सभाको १ वर्ष बाँकी रहँदा सभा प्रवेश गरेकी निर्मलामा ‘केही गर्छु’ भन्ने उत्साह जागेको छ । ‘जीवन र राजनीति सोचेजस्तो नहुने रहेछ,’ निर्मला भन्छिन्, ‘अन्तिम समयमा मलाई कल्पना बाहिरको अवसर जुर्‍यो । यो अवसरको सही सदुपयोग गर्नेछु । समग्र रूपमा पछाडि परेका महिलाका समस्या सदनमा उठाउँदै समाधानका लागि जोडदार पहल गर्ने मेरो इच्छा/चाहना छ ।’ 

उनलाई अहिले बधाईको ओइरोसँगै सबै महिलाको मन जितेर सार्वभौम सदनमा आवाज उठाउन सुझाव पनि दिएका छन् । 

राजनीतिमा प्रवेश गरेकी निर्मलाले सांसद बनेसँगै अब सक्रिय राजनीतिमा लाग्ने अठोट समेत गरिसकेकी छन् । ‘म केही गर्न सक्छु भनेरै मलाई यो जिम्मेवारी दिइएको होला । हामी राजनीतिमै नलागे पनि घरमा राजनीति हावापानी चाहिँ थियो,’ संसदको यात्राबारे उनी भन्छिन्, ‘मलाई राजनीतिमा लाग्ने ढोका खुल्यो । गृहस्थीबाट अब सक्रिय राजनीतिमा लाग्छु ।’ 

राजनीति देशको मूल नीति भएकाले सुधार गर्नुपर्ने उनी बताउँछिन् । उनी पाल्पामा मध्यम परिवारमा जन्मिएकी हुन् । पाल्पाबाट उनको परिवार नवलपरासीको त्रिवेणी बसाइसराइँ गरेको थियो । त्रिवेणीबाट उनको विवाह छपियाका महादेवसँग भएको हो । 

तराईमा महिला र समाज धेरै पछाडि छ । क्षमता भएर पनि समाज र परिवारकै कारण महिलाहरू घरमै रूमल्लिएका छन् । अब कसरी हुन्छ महिलालाई अगाडि ल्याउन चाहन्छिन् मुडभरी ।

‘तराई/मधेश समुदायमा धेरै क्षमतावान् महिलाहरू पनि छन् । तिनीहरूलाई नेतृत्व तहमा ल्याउन आवाजविहीनहरूको आवाज बन्ने कोशिस गर्नेछु । यो मेरो श्रीमान्लाई सुनाएकी पनि छु । उहाँले पनि साथ दिन्छु भन्नुभएको छ,’ मुडभरीले भनिन् ।

राजनीतिमा खुट्टा तान्ने प्रवत्ति रहेको भन्दै त्यसतर्फ आफू चनाखो बन्ने उनी बताउँछिन् । संसदबारे धेरै कुराको ज्ञान नभएको भन्दै उनले काम गर्दै जाँदा सिक्दै पनि जाने बताइन् । देशमा हरेक दशकजसो परिवर्तनको संघर्षमा महिलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । राज्यका निकायमा महिला सहभागिता सुनिश्चित भएका छन् । यसलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । 

अहिले लुम्बिनी प्रदेशसभा मुडभरीसहित ८२ सदस्यीय छ । जसमध्ये ३२ जना महिला सांसद छन् । ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका २, जसपा २ जना कारवाहीमा परेर पदमुक्त भए भने एमालेका २ सांसदले राजीनामा दिए । जसपाका ४ सांसदमध्ये ३ जना प्रदेश सरकारका मन्त्री छन् । 

पछिल्लो ४ महिना लुम्बिनीमा सत्ता परिवर्तन र जोगाउन भएका अनेक खेलहरूलाई उनले बुझ्न पाइनन् । सत्ताकै लागि पार्टीको ह्वीप विपरीत लाग्दा पार्टीका प्रत्यक्ष निर्वाचित रूपन्देहीका सन्तोषकुमार पाण्डेय र बाँकेका विजयबहादुर यादव र समानुपातिक सांसद पाण्डेले पद गुमाए । 

घरायसी कामधन्दादेखि सांसदसम्मको यात्रा तय गर्ने क्रममा उनले धेरै बाधा–अवरोध केही छिचोल्न परेन तर अन्य महिला भएकाले राजनीतिको भर्‍याङ उक्लिन निकै कठिन गरेको उनले सुनाइन् । घरपरिवारको जिम्मेवारीले थिचिँदा महिला राजनीतिमा खुलेर आउन नसक्ने गरेको उनले प्रत्यक्ष आफ्नै आँखाले देखेकी छन् ।

साउन ३२ गते जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णय अनुसार बन्द सूचीमध्येबाट मुडभरीलाई निर्वाचन आयोगको भदौ १० गतेको बैठकले रिक्त पदमा निर्वाचित गरेको थियो । उनले भदौ २३ गते प्रदेश सभामा शपथ समेत लिइसकेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्