अफगानिस्तानमा अमेरिकी सैनिकहरूले किल्ला बनाएको बागराम एयरबेसमा तालिबानको नियनत्रणपछि पहिलोपटक सैन्य विमान ओर्लिएको देखिएको छ ।
यो चिनियाँ सेनाको विमान हुनसक्ने अनुमान छ । यस एयरबेसको प्रकाश पनि चालु गरिएको छ ।
चीनले तालिबानसँगको सम्बन्ध बलियो बनाउनका लागि अफगानिस्तानमा आफ्ना सैनिक पठाउने विषयमा विचार गरिरहेको खबर आएको थियो ।
बेलायती पत्रिका डेली मेलले अनेकौं सूत्रलाई उद्धृत गर्दै बागराम एयरबेसमा चिनियाँ विमान ओर्लिएको किनकि तालिबानसँग बागरामको लाइट चालु गर्ने क्षमता नभएको खबर दिएको छ ।
चिनियाँ विज्ञ युन सुनले अफगानिस्तानबाट अमेरिकाको बहिर्गमनपछि चीनले बागराम एयरबेसमा नियन्त्रण राख्न प्रबल इच्छा देखाएको बताएकी छन् ।
बागराम एयरबेस राजधानी काबुलभन्दा एक घन्टा पर छ । त्यसमा २० वर्षसम्म अमेरिकाको नियन्त्रण थियो ।
चीनले बेल्ट यान्ड रोड इनिसिएटिभको परियोजना सञ्चालनका लागि बागराममा अध्ययन गराएको पनि बताइएको छ ।
चीनको एक प्रतिनिधिमण्डल केही दिनअघि गोप्य रूपमा बागराम पुगेको र रेकी गरेको खबर आएको थियो ।
सीएनएन न्युज १८ को एक रिपोर्टअनुसार, चीनको गुप्तचर निकाय तथा सेनाका उच्च अधिकारीहरूको प्रतिनिधिमण्डल बागराम एयरबेस किन गएको भन्ने खुलेको छैन । तालिबान र पाकिस्तानको सहायताले चिनियाँहरू बागराममा गुप्तचर केन्द्र बनाउन खोजिरहेको बताइएको छ । सिन्च्याङ प्रान्तमा उइगुर मुसलमानहरूलाई दिइने सहायतामा कडा निगरानीका लागि गुप्तचर केन्द्र बनाउन खोजिएको बताइएको छ ।
चिनियाँ गुप्तचरहरूलाई काबुल विमानस्थलमा कसैले नजर नलगाऊन् भनी पाकिस्तानको बाटो भएर अफगानिस्तान पुगेको बताइएको छ ।