
साहित्यतर्फ यस वर्षको नोबेल पुरस्कार तान्जानियामा जन्मेर बेलायतमा बसोबास गर्ने अब्दुलरजाक गुरनाहलाई दिने घोषणा बिहीवार गरिएको छ ।
उपनिवेशवादको असर तथा संस्कृति र महादेशहरूबीचको खाडलमा शरणार्थीको भाग्यको इमान्दार तथा सहानुभूतिशील चित्रण गरेकोमा गुरनाहलाई पुरस्कार दिइएको नोबेल एकेडमीले जनाएको छ ।
गुरनाहका १० वटा उपन्यास र अनेकौं कथाहरू प्रकाशित छन् । शरणार्थीको समस्या उनका सबै कृतिमा भेटिन्छ । उनले इंग्ल्यान्डमा २१ वर्षको उमेरमा निर्वासनमा छँदा लेख्न थालेका थिए । स्वाहिली उनको मातृभाषा भए पनि अंग्रेजी उनको साहित्यिक भाषा बन्यो ।
गुरनाहको चौथो उपन्यास प्याराडाइज सन् १९९४ मा प्रकाशित भएको थियो र त्यसले उनलाई पहिचान दिलायो । यो एक उदास प्रेमकथा हो जसमा विभिन्न विश्व र विश्वास प्रणालीहरू जुधेका छन् ।
सन् १८४८ मा जन्जिबार टापुमा जन्मेका गुरनाह शरणार्थीका रूपमा सन् १९६० को दशकको अन्त्यतिर बेलायत आएका थिए । उनी केही समयअघि मात्र केन्ट विश्वविद्यालयमा अंग्रेजीका प्राध्यापक थिए ।