
पासो लागेर मरेको मानिसको डोरी करोडाैंमा बिक्री हुन्छ भन्ने अन्धविश्वासका कारण एक महिलाको हत्या भएको छ ।
ललितपुर–२७, सुनकोठीमा बस्ने नुवाकोट बेलकोटगढी–९ की ४५ वर्षीय कमला तामाङको हत्या भएको हो । उनको डोरीले घाँटीमा कसेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–८ मंगलबारे घर भई ललितपुर हरिसिद्धि बस्ने सुमन मगर, मकवानपुर राक्सिराङ–५, प्याङचे टोल बस्ने २३ वर्षीय सविन प्रजा र उनकी श्रीमती १८ वर्षीय प्रविना प्रजा माझी रहेका छन् ।
प्रहरीका अनुसार भदौ २५ गते राति तामाङको हात बाँधेर घाँटीमा डोरीले कसेर हत्या गरेको र हत्यापछि डोरी, कानमा लगाएको गहना र मोबाइलसमेत लुटेर उनीहरू फरार रहेका थिए ।
असोज २१ मा सुमनलाई प्रहरीले पक्राउ गरेको थियो भने उनकै बयानका आधारमा २२ गते सविन र प्रविनालाई पनि पक्राउ गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा मीनभवनले जनाएको छ ।