०२ साउन २०८३, शनिबार

गण्डकी प्रदेश पूर्ण साक्षर घोषणा

गण्डकी प्रदेश पूर्ण साक्षर घोषणा

गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशलाई आइतवार आयोजित समारोहमा पूर्ण साक्षर भएको घोषणा गरे । त्यसअघि उनले पोखरा नयाँबजारस्थित प्रदेश संग्रहालयमा निर्मित साक्षर प्रदेशको स्तम्भ अनावरण गरेका थिए । 

नेपाली कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा लिएको बताउँदै साक्षरता र समृद्धिको सोझो सम्बन्ध रहेको उल्लेख गरे । उनले भने, ‘समृद्धिको आधार नै साक्षरता हो । जनतालाई साक्षरता बनाउन सरकारको दायित्व र जिम्मेवार भएको हो । शिक्षाप्रति सरकार गम्भीर छ ।’

शैक्षिक व्यवस्थापनमा सुधार गर्नुपर्ने कार्यक्रम रहेको जनाउँदै उनले साक्षरताको लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनले संघीयता पूर्णरुपमा कार्यान्वयनका लागि सरकार प्रतिबद्धसमेत रहेको बताए । ‘संघीयता अझै पनि पूर्ण रुपमा कार्यान्वयन गर्न बाँकी छ,’ प्रधानमन्त्री देउवाले भने, ‘संघीयता कार्यान्वयनले प्रजातन्त्रको रक्षा हुन्छ ।’ 

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै रहेको उल्लेख गर्दै उनले प्रजातन्त्रको अर्को केही विकल्प नहुने दाबी गरे । नेपाली कांग्रेस प्रजातन्त्रको लागि लड्दै आएको भन्दै प्रजातन्त्रको विरुद्ध लडेर औचित्य नहुने जिकिर गरे ।

उनले कोरोना महामारी नियन्त्रणमा सरकार सफल देखिएको दाबी गर्दै अमेरिका र बेलायतले भिसा उपलब्ध गराएको जानकारी गराए । ‘कोरोना नियन्त्रणमा नेपालको खेलेको भूमिकालाई विश्व स्वास्थ्य संगठनले धन्यवाद दिएको छ,’ उनले भने ‘बेलायत र अमेरिकाले पनि सजिलै भिसा दिएका छन् ।’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेशलाई पूर्ण साक्षर घोषणा गरे पनि नयाँ पिँढीलाई निरन्तर साक्षर बनाउने कार्यक्रम चलाइरहनुपर्ने बताए ।

गण्डकी प्रदेशका ८५ वटै पालिका र ११ वटै जिल्ला साक्षर घोषणा गरिसकेकाले प्रदेशलाई नै साक्षर प्रदेश घोषणा गरिएको प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए । 

प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता प्रतिशत ९६.५७ प्रतिशत रहेको शिक्षा मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार प्रदेशको राजधानी कास्की जिल्लामा ९६ प्रतिशत साक्षरता प्रतिशत रहेको छ भने स्याङ्जामा ९६.१६ प्रतिशत, तनहुँमा ९६.४० प्रतिशत, लमजुङमा ९५.५ प्रतिशत, गोरखामा ९७.२० प्रतिशत र नवलपुरको ९८ प्रतिशत साक्षरता रहेको छ । 

त्यस्तै पर्वतको ९६.९३ प्रतिशत, बागलुङको ९६.५७ प्रतिशत, म्याग्दीको ९६.२७ प्रतिशत, मनाङको ९६.९० प्रतिशत र मुस्ताङको ९६.३५ प्रतिशत साक्षरता रहेको छ । 

राष्ट्रसंघको विश्वव्यापी अभ्यासअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चिता गरेको छ । सोही अभ्यासलाई आधार बनाएर नेपालमा पनि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चितता भएका क्षेत्र, जिल्ला, प्रदेश वा राष्ट्रलाई साक्षरता घोषणा गर्न सकिने नीति पारित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्