२४ जेठ २०८३, आइतबार

डकैती भएको ४ महिनापछि डाँका गिरोहका योजनाकार पक्राउ

कात्तिक १२, २०७८
डकैती भएको ४ महिनापछि डाँका गिरोहका योजनाकार पक्राउ
प्रतिकात्मक तस्वीर

डकैती घटना भएको ४ महिनापछि प्रहरीले डाँका गिरोहका मुख्य योजनाकारलाई पक्राउ गर्न सफलता पाएको छ ।

गत असार ३ गते राति जिल्लाको सम्सी गाउँपालिका–१ पर्सादेवाड बस्तीस्थित राजीव ज्वेलर्समा डकैती घटना गराउने मुख्य योजनाकार सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका कारी भनिने ४२ वर्षीय विश्वनाथ पासवानलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालयले बिहीवार साँझ नै पत्रकारबीच सार्वजनिक गरेको छ ।

घटनाका योजनाकार भनेर पहिचान भइसके पनि लुक्दैछिप्दै आपराधिक गतिविधि सञ्चालन गर्दै आएका पासवानलाई जिल्लाकै सोनमा गाउँपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गत असार ३ गते पासवानकै योजनामा सशस्त्र हतियारधारी डाँकाले रातको समयमा पर्सादेवाडका वीरेन्द्र साहको घरका परिवारजनलाई गोली प्रहार समेत गरेर सुनचाँदीका गहना र नगदसहित लुटपाट गरी करीब ९ लाख मूल्य बराबरको धनमाल लगेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

लुुटपाटका क्रममा सशस्त्र डाकाको समूहले घरमुली वीरेन्द्र साहको ढाँडमा गोली प्रहार गर्नुका साथै निजकी पत्नी सुशीलादेवी, छोरा शम्भु र राजीव तथा छोरी कञ्चनलाई फलामे रड प्रहार गरी घाइते बनाएको थियो । पक्राउ परेका पासवान पेशेवर डाका रहेका र वरिपरिका जिल्लामा हुँदै आएका डकैती घटनामा संलग्न रहँदै आएको अनुसन्धानले देखाएको प्रनाउ विष्टको भनाइ छ ।

पासवान पक्राउ परेपछि महोत्तरीसहित आसपासका जिल्लाका बासिन्दाले राहत महसूस गरेका छन् । पुस्तैनी (पुख्र्यौली) घर धनुषाको झिजा भएका पासवानलाई सरकारले ४ दशकअघि डकैती पेशा छाडेर घरगृहस्थी गर्ने शर्तमा घडेरीसहित खेतीबारी गर्ने जग्गासमेत उपलब्ध गराएर लालबन्दीमा पुनर्वास बस्ती बसाएको थियो ।

त्यसै परिवारका पासवान धनुषाबाट रौतहटसम्मका र यदाकदा सीमापारि भारतमा हुने डकैती घटनाका योजनाकार रहँदै आएको प्रहरीको निष्कर्ष छ ।

salt training

कमेन्ट गर्नुहोस्