२६ असार २०८३, शुक्रबार
बार अध्यक्षको आक्रोश

प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म बारको आन्दोलन रोकिन्न– अध्यक्ष श्रेष्ठ

कात्तिक २८, २०७८
प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म बारको आन्दोलन रोकिन्न– अध्यक्ष श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआउञ्जेल आफूहरूको आन्दोलन नरोकिने बताएका छन् ।

जबरा रहेसम्म न्यायालयमा सुधार हुन नसक्ने भएकाले राजीनामा नै मुख्य शर्त रहेको श्रेष्ठले बताए । 

प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै बारले आयोजना गरेको धर्नाअघि कानून व्यवसायीहरूलाई बार परिसरबाट सम्बोधन गर्दै श्रेष्ठले न्यायपालिकाको माया भए राजीनामा गर्न ढिला नगर्न आग्रह गरे ।

‘हाम्रो दबाबका कारण गठन गरिएको समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगर्ने बताएपछि त्यही दिनबाट हामीले आन्दोलन शुरू गरेका छौं । न्यायपालिका सुधारको बाधक चोलेन्द्र रहँदासम्म सुधार हुँदैन,’ श्रेष्ठले भने, ‘हामी सडकमा जान चाहेका थिएनौं, सर्वोच्च प्रवेश गर्ने गेट बन्द गरेका कारण मात्र हामी सडकमा गएका हौं । सर्वोच्च हाम्रो मन्दिर हो, यहाँभित्र कसैले रोक्न सक्दैन । रोक्ने हिम्मत कसैसँग छैन ।’ 

श्रेष्ठले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन सांकेतिक रूपमा बिहान साढे ११ सम्म धर्ना दिने बताए ।

‘विश्वमा कहीँ पनि न्यायालयभित्र सुरक्षाकर्मी र हतियार हुँदैन । यहाँ हतियार सहितका सुरक्षाकर्मी राखेको छ । आज झुकेर बारतर्फको ढोका खोलेको छ,’ श्रेष्ठले भने । 

त्यसपछि बारका पदाधिकारीसहितका कानून व्यवसायीहरू सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका छन् ।

सर्वोच्चभित्र जारी धर्नामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वसभामुख समेत रहेका दमननाथ ढुंगाना लगायत सहभागी छन् । 

बारले अवरोध गरेपछि शुक्रवार प्रधानन्यायाधीश जबरा महान्यायाधिवक्ता कार्यालयसँगै रहेको वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्