
सर्वोच्च अदालतमा सोमवार बन्दी प्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए ।
न्यायाधीशद्वय तेजबहादुर केसी र डा. कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकाणको मुद्दामा सुनुवाइ गरी आदेश जारी गरिएको हो ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले पनि बन्दीको मुद्दामा सुनुवाइ गरी आदेश जारी गरेको छ । प्रधानन्यायाधीश राणाको एकल इजलासमा सबै खालका मुद्दाको सुनुवाइ भएको छ । अरु न्यायाधीशको इजलासमा भने हेर्न नभ्याइने र बेञ्च नबसेको जनाइको छ ।
प्रधानन्यायाधीश राणाले सोमवारका लागि १० इजलासमा पेशी तोकेका थिए । तीमध्ये ८ संयुक्त र २ एकल इजलास रहेका थिए । ८ मध्ये २ संयुक्त र एउटा एकल इजलासमा सुनुवाइ भएको हो ।
सर्वोच्च अदालतमा कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफूसक्षम रहेको बताउँदै आएका छन् ।
न्यायाधीशलाई पनि संविधान र कानुन बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न उनले आग्रह गरे । प्रधानन्यायाधीश राणाले सोमवार प्रेस विज्ञप्ति जारी गरी न्यायालयमा देखिएको अहिलेको समस्या समाधान गर्न बारलाई वार्तामा आउन आह्वान गरेका छन् ।