
काठमाडौं, १६ पुस — अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले राष्ट्रिय शक्तिहरूको ध्रुवीकरणका कारण संविधानको भविष्य नै संकटमा परेको बताएका छन् ।
संविधान कार्यान्वयनको विषय दिन प्रतिदिन जटिल बन्दै गएको बताउँदै रेग्मीले शान्ति र सम्बृद्धिका लागि सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने बताएका हुन् । ‘दलहरूले जनताबाट लिएको जिम्मेवारी पूरा गर्न सकिरहेका छैनन्,’ विपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘राष्ट्र बलियो भएमा मात्रै जनता बलियो हुने हो, स्वाभिमान तेजिलो हुने हो ।’
रेग्मीले संविधान कार्यान्वयका लागि तीन वटै तहको स्थानीय निर्वाचन हुनुपर्ने भएपनि उक्त विषय अलमलमा परिरहेको बताएका छन् । समयमै तीन तहको निर्वाचन गर्न नसकिएमा संविधान र देशको भविष्यनै संकटमा पर्ने उनले बताए ।
‘दलहरुले इतिहासको जटिल मोडमा चिरस्थायी हुने काम गरुन भन्ने अपेक्षा रहेको छ,’ उनले भने, ‘दलहरू बीचको मतभेद कम गरेमा मात्रै संविधान कार्यान्वयनमा समस्या हुँदैन ।’ साथै उनले राष्ट्रियताको विषयलाई कुनैपनि दलको घानमा मिसाउन नहुने बताएका छन् ।
रेग्मीले जनताहरु बीचको हातेमालोले बलियो हुने विषय भएको बताउँदै दलहरुको विचारगत घानमा मिसाउन नहुने बताए । उनले अहिले सतहमा आएको संघीयताको विषय दलीय स्वार्थ, क्षेत्र तथा जागितगत भावना भन्दा माथि उठेर सल्टाउनुपर्ने बताएका छन् ।
अहिले दलहरूले काम गर्नुपर्ने समय भएको स्मरण गराउँदै उनले कुरा गरेर बस्ने समय नरहेको बताए । रेग्मीले आफू मन्त्रिपरिषद्कै अध्यक्ष भएको बेलामा दलहरूले २०७० को अन्त्यमै स्थानीय तहको निर्वाचन गर्ने मौखिक सहमति गरेको समेत स्मरण गराएका छन् ।
आफू अध्यक्ष भएको बेलामा नै स्थानीय तहको चुनाव गराएको भए अहिलेको जस्तो जटिलता र संक्रमण नहुने समेत उनले बताए । उनले संविधानले निर्धारण गरेको संक्रमणकालिन अवस्था तल माथि गराउन नसकिने बताउँदै उनले दलहरूलाई समयमै एक ठाउँमा उभिएर राष्ट्रहीतमा काम गर्न सुझाएका छन् ।
कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले कांग्रेस एमालेलाई विभाजित गर्न विदेशी शक्तिको हात रहेको भन्दै त्यसबाट दलहरु मुक्त हुनुपर्ने बताए । साथै उनले नेपालका सम्पूर्ण राजनीतिक प्रकृयामा भारतले हिस्सेदारी खोजेका कारणले अहिलेको समस्या आएको बताए ।