०२ साउन २०८३, शनिबार

प्रहरीलाई इच्छाराजको बयान: १२ अर्ब तिर्नुछ, भूकम्प र कोरोना महामारीले समस्यामा परेँ !

मंसिर १७, २०७८
प्रहरीलाई इच्छाराजको बयान: १२ अर्ब तिर्नुछ, भूकम्प र कोरोना महामारीले समस्यामा परेँ !

सिभिल सहकारी ठगी प्रकरणमा पक्राउ परेका उक्त सहकारीका सञ्चालक इच्छाराज तामाङले करीब १२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी बयानमा स्वीकार गरेका छन् ।

करीब २ हजार १ सय जनाजति संस्थाका सदस्य वचतकर्ता रहेको उनले बताए । उक्त संस्थाका वचतकर्ता सदस्यहरूलाई करीब ७ अर्ब जति रकम फिर्ता गर्नुपर्ने रहेको उनले बताएका छन्।

त्यसैगरी सिभिल होम्स समेतका सबै कम्पनीहरूबाट ५ अर्ब जति कर्जा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई तिर्न बाँकी रहेको उनले बताएका छन्।

तर उक्त दायित्व आफ्नो व्यक्तिगत नभई संस्थाको दायित्व रहेको उनले जिकिर गरेका छन् ।

१ लाख रुपैयाँ लगानीबाट शुरू गरिएको अर्बौंको कारोबार

व्यवस्थित बसोबासका लागि हाउजिङ व्यवसाय गर्ने उद्देश्यले २०५७ सालमा हरिहर लामिछाने, प्रकाश कुमार बर्मा, जीवराज बज्राचार्य, डा. दुर्गाप्रसाद संग्रौला समेतका व्यक्तिहरूले मिलेर सहकारी स्थापना गरेको तामाङले बयान दिएका छन् ।

सहकारी स्थापना भए पश्चात तत्काल उनले १ लाख रुपैयाँ शेयर लगानी गरी शेयर सदस्यको रुपमा आवद्ध भई कामको शुरूआत गरेको बताएका छन्। संस्थालाई आवश्यकताअनुसार सञ्चालक समितिले निर्णय गरे अनुसार संस्थालाई पटक–पटक थप शेयर लगानी गर्दै आएको उनले बताएका छन्।

संस्थाको स्थापना कालदेखि २०६७ सालसम्म मात्र सञ्चालक समितिको अध्यक्ष भएर काम गरेको तथा त्यसपछि हालसम्म सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ रहेको उनले बताएका छन्। २०७३ सालसम्म सहकारीमा संस्थापक सल्लाहकारको रूपमा मात्र काम गरेको उनले बताएका छन्।

२०६० सालमा सिभिल सेभिङ एण्ड क्रेडिट संस्थाले पहिलो चरणमा आफ्नै नाममा हाउजिङ परियोजनाका लागि ललितपुरको भैंसेपाटीमा जग्गा खरिद गरी घर निर्माण तथा बेचबिखन गरेको उनले प्रहरीसँगको बयानमा खुलाएका छन्।

२०६२/०६३ यता हाउजिङ परियोजनाको रुपमा विभिन्न स्थानहरूमा जग्गा खरिद गरी हाउजिङ बनाइ बिक्री गर्दै आएको उनले बयानमा उल्लेख गरेका छन्।

२२ वटा कम्पनी खडा गरी कारोबार

२०६३ सालतिर हाउजिङ व्यवसाय गर्नलाई सहकारी संस्थाबाट नगर्नु र छुट्टै कम्पनी प्रा.लि. खडा गरी कारोवार गर्नु भनी आन्तरिक राजश्व विभागको निर्देशनानुसार व्यवस्थित बसोबासका लागि घरजग्गा निर्माण गरी बेचबिखन गर्ने काम शुरू गरिएको उनले बताएका छन्। सिभिल होम्स प्रा.लि. नामक कम्पनी दर्ता गरेर हाउजिङ परियोजना शुरू गरेको उनको कथन छ।

एउटा कम्पनीमा ३५ रोपनीभन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीको कारणले २०६५ सालतिर सिभिल अपार्टमेन्ट प्रा.लि. सहितका अन्य २१/२२ वटा जति कम्पनीहरू दर्ता गरी सञ्चालनमा ल्याएको उनले बयान दिएका छन्। तर अहिले कतिपय कम्पनी बन्द भइसकेको समेत उनले खुलाएका छन्।

सिभिल होम्स समेतका कम्पनीहरूले फेजवाइज हाउजिङ परियोजनाहरू सञ्चालन गरेको उनको कथन छ।

सबै कम्पनीहरूमा सञ्चालक समितिको अध्यक्ष उनी आफैं रहेको समेत स्वीकार गरेका छन्। त्यसका साथै ती कम्पनीहरूको सदस्य केशवलाल श्रेष्ठ समेत रहेको उनले बताएका छन्।

विभिन्न बैंकहरूमा उनको आफ्नो, आफ्नो परिवार तथा सिभिल होम्स समेतका नाममा खाताहरू रहेको उनले बताएका छन्। सिभिल बैंकमा संस्थापक शेयर संख्या ४ लाख ४८ हजार ६ सय रहेको उनले बताएका छन्। त्यसबाहेक अन्य बैंक, वित्तिय संस्था, कम्पनीहरूमा समेत शेयर हुनुका साथै काठमाडौंको कीर्तिपुरमा जग्गा जमिन रहेको उनले स्वीकार गरेका छन्।

भूकम्प र कोरोना महामारीका कारण कारोवारमा क्षति

२०७२ सालको विनासकारी भूकम्पका कारण कम्पनीहरूले निर्माण गरेका अपार्टमेन्टहरूमा ठूलो क्षति पुग्दा पुनःनिर्माण गर्न समय लागेकाले ठुलो नोक्सानी बेहोर्नुपरेको उनले बयानमा भनेका छन्।

त्यसपछि कोरोना महामारीका कारण घर/अपार्टमेन्ट बिक्री वितरणमा कमी आएकाले भने जतिको रकम कम्पनीको तर्फबाट सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई चुक्ता गर्न नसकेको उनले बयान दिएका छन्।

विना धितो कर्जा

आफू संस्थाको अध्यक्ष भएको हुँदा संस्था नियम विनियमबमोजिम संस्थाको नाममा प्रायः जसो जग्गाहरू रजिस्ट्रेसन पारित गरी सो जग्गामा संस्था र कम्पनीको संयुक्त लगानी भएकाले धितो राखी राख्न आवश्यक नपरेकाले धितो नराखिएको उनले बयानमा उल्लेख गरेका छन्। कतिपय लगानीमा धितो समेत राखिएको उनले भनेका छन्।

कर्जाबापतको रकम चुक्ता गर्न वचतकर्ताको नाममा समेत घर जग्गा रजिस्ट्रेसन पारित गरी कम्पनीहरूको नाममा रहेको साँवा ब्याज रकम घटाई आएको उनले बयान दिएका छन्।

संस्थामा सदस्य वचतकर्ताहरूले वचत गरेको रकम वचतकर्ता सदस्यहरूलाई फिर्ता गर्ने आफ्नो व्यक्तिगत दायित्व नभएर संस्थाको दायित्व रहेको उनले जिकिर गरेका छन्।    

salt training

कमेन्ट गर्नुहोस्