२४ असार २०८३, बुधबार
शक्ति राष्ट्रको भुमरीमा परेको टापु

चीनसँग नजिकिन खोज्दा पश्चिमले गिजोलेको सोलोमन आइल्यान्ड्सको कथा

मंसिर २०, २०७८
चीनसँग नजिकिन खोज्दा पश्चिमले गिजोलेको सोलोमन आइल्यान्ड्सको कथा

प्रशान्त महासागरमा रहेको सोलोमन आइल्यान्ड्स नामक देशमा विगत केही समयदेखि अमेरिका र चीनबीचको प्रतिस्पर्धाका कारण तनावको स्थिति छ । 

उक्त देशको राजधानी होनियारामा गत नोभेम्बर महिनादेखि सरकारविरोधी हिंसा भड्किएपछि चारजनाको मृत्यु भइसकेको छ । हिंसाकै क्रममा पसलहरूमा लुटपाट गरिएको छ भने चाइनाटाउनलाई विशेष तारो बनाउँदै प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । दंगा मच्चाउनेहरूले संसद् भवनमा समेत आगजनी गरेका छन् ।

उक्त देशका प्रधानमन्त्री मनासे सोगाभारेको सरकारले सन् २०१९ मा ताइवानको साटो चीनलाई मान्यता दिने घोषणा गरेपछि पश्चिमले चित्त बुझाइहेको थिएन । सानो मुलुकले चीनसँग नजिकिएर फाइदा उठाउनका लागि पृष्ठभूमि बनाएको पश्चिमलाई पाच्य भएन । 

हुन पनि चीनलाई मान्यता दिएपछि सोलोमन आइल्यान्ड्सले आर्थिक लाभहरू हासिल गरेको छ । एसिया टाइम्समा हेमिश म्याकडोनल्डले गरेको विश्लेषणमा उल्लेख भएअनुसार, चीनको एक कर्पोरेसनले सोलोमन आइल्यान्ड्सको विशाल सुनखानीलाई पुनः आरम्भ गर्नका लागि लगभग ८३ करोड डलर बराबरको लगानी गरेको छ । त्यसका साथै चीनले सन् २०२२ मा आयोजना गरिने साउथ पेसिफिक गेम्सका लागि १२ हजार सीटक्षमता भएको खेलकुद रंगशाला पनि बनाउन खोजेको छ ।

चीनको प्रभाव क्रमशः बढ्दै गएपछि पश्चिमले प्रधानमन्त्री सोगाभारेको सरकारलाई अपदस्थ गर्नका लागि विभिन्न प्रयास गरिरहेको देखिन्छ । आफूलाई मन नपरेको शासकलाई सबै उपाय अपनाएर हटाउने पश्चिम, अझ विशेषगरी अमेरिकाको पुरानै इतिहास छ । 

जुन देशमा पनि आन्तरिक समस्याहरू हुन्छन् नै । अन्य कतिपय देशमा जस्तै सोलोमन आइल्यान्ड्समा पनि कुशासन र भ्रष्टाचारको समस्या छ । सन् २००६ र २०१९ मा पनि कुशासनबाट आजित भएका मानिसले राजधानी होनियारामा दंगा गरेको यहाँ सान्दर्भिक छ । 

पश्चिमले जनताको त्यही असन्तुष्टिलाई भूराजनीतिक खेलका लागि उपयोग गरेको देखिन्छ । चीनसँग सम्बन्ध बढाएको मुगावारे सरकारलाई विपक्षी नेता म्याथ्यु वेलले विदेशी शक्तिको अधीनमा रहेको आरोप लगाए । उनले पश्चिमको भाषा बोलेका हुन् ।

सोलोमन आइल्यान्ड्स शक्तिराष्ट्रहरूको भूराजनीतिक प्रतिस्पर्धाको थलो बन्ने पृष्ठभूमि त्यहाँको आफ्नै भूगोलले पनि तयार पारेको हो ।

सोलोमन आइल्यान्ड्स नामबाटै यो देश विभिन्न टापुहरूको समूहबाट बनेको स्पष्ट हुन्छ । यसको मालाइता नाम टापुमा सबभन्दा धेरै जनसंख्या छ । 

हाल भएका दंगामा संलग्न मानिसहरू मालाइताबाट ग्वाडालकनाल टापु गएका हुन् र त्यही ग्वाडालकनालमा राजधानी होनियारा छ । सरकारले ताइवानको साटो चीनलाई मान्यता दिएपछि मालाइता प्रान्तले बेग्लै राज्य बनाउने समेत संकेत पहिले नै दिएको थियो । हालै भएका दंगामा पनि पृथक्तावादी नाराहरू घन्किएको विभिन्न सञ्चारमाध्यममा खबर आएका थिए ।  

यसरी राजधानी होनियाराले चीनलाई मान्यता दिइसकेको अनि मालाइताले ताइवानलाई दिइएको मान्यता कायम राख्नुपर्ने माग राखिरहेको सन्दर्भ नै अहिलेको दंगाको पृष्ठभूमि हो । मालाइताका प्रमुख डेनियल सुइडानीले शीतयुद्ध मानसिकता अपनाउँदै चीनसँगको सम्बन्ध विस्तारको विरोध गरेका हुन् ।

सोलोमन आइल्यान्ड्समा विकसित घटनाक्रमले साना र विश्व राजनीतिमा प्रभाव पार्न नसक्ने मुलुकहरूलाई ठूलै पाठ सिकाएको छ । बेइजिङको निकट हुन खोज्ने जुनसुकै मुलुकमा पनि पश्चिमले आन्तरिक संघर्ष चर्काउन सक्छ र पृथक्तावादी सोचलाई मलजल समेत गराउन सक्छ भन्ने कुरा यसबाट देखिन्छ । 

मालाइतामा रहेका कट्टर क्रिस्चियनहरूले नास्तिक कम्युनिस्ट चीनसँग सम्बन्ध बढाउनु गलत भएको सोच राख्ने गरेको र सुइडानी लोकरञ्जनवादी नेता भएकाले त्यस्ता क्रिस्चियनहरूलाई खुशी बनाउनका लागि ताइवानसँगको सम्बन्ध कायम राख्न पहल गरेको विश्लेषण सोलोमनटाइम्समा टेरेन्स वूडले गरेका छन् । त्यसमा चीनभय पनि मिसिएको हुन सक्ने उनको भनाइ छ ।

प्रधानमन्त्री सोगाभारेले यी दंगाहरू विदेशीहरूको उक्साहटमा भएको र सत्तापरिवर्तन गर्ने दंगाबाजहरूको लक्ष्य भएको आरोप लगाए । उनको संकेत पश्चिमतर्फ रहेको स्पष्ट छ । 

सत्तापरिवर्तनको लक्ष्यसहित गरिएको दंगाले सफलता पाउन भने सकेन । सोमवार संसदमा प्रधानमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव १५ का विरुद्ध ३२ मतले पराजित भएको खबर सोलोमनटाइम्स डट्कमले दिएको छ । अर्थात्, चीनलाई सोलोमन आइल्यान्ड्सबाट भगाउने पश्चिमी षड्यन्त्र विफल भएको छ । 

भूराजनीतिक प्रतिस्पर्धाको यस कडीमा अस्ट्रेलिया पनि जोडिन आउँछ । अस्ट्रेलियाबाट नजिकै रहेको सोलोमन आइल्यान्ड्समा परम्परागत रूपमा अस्ट्रेलियाको प्रभाव रहिआएको छ । केही गाह्रोसाह्रो पर्दा सोलोमन आइल्यान्ड्सले अस्ट्रेलियासँग सहयोग माग्ने गरेको छ । 

अहिले दंगा भड्किँदा पनि प्रधानमन्त्री मोगाभारेले अस्ट्रेलियाको सहयोग मागेपछि उसले १०० जना दंगा प्रहरी पठाएको छ । उनीहरूसँगै पापुआ न्यु गिनी, फिजी, न्युजील्यान्ड र सामोआका सुरक्षाकर्मीहरू पनि सोलोमन आइल्यान्ड्समा खटिएका छन् । 

चीनसँग सम्बन्ध बढाएका प्रधानमन्त्री मोगाभारेले अस्ट्रेलियाको सहयोग किन लिए होलान् भनेर पनि प्रश्न उठाउन सकिन्छ । अस्ट्रेलिया हिजोआज चीनको घोर विरोधी बनेको छ । उसले अमेरिका र बेलायतसँग गरेको अकस सम्झौता पनि चीनलाई हिन्द प्रशान्त क्षेत्रमा रोक्नका लागि नै हो । 

चीनसँग निकट रहेको सरकारलाई सहायता गर्न अस्ट्रेलिया कसरी तयार भयो होला ? अमेरिकी विश्लेषक एन्ड्रु कोरीब्कोका अनुसार, यसका विभिन्न कारण हुन सक्छन् । चीनले सोलोमन आइल्यान्ड्समा हस्तक्षेप गर्न सक्ने डरले हतार गरी अस्ट्रेलियाले आफ्नो सेना पठाएको हुन सक्छ । आखिर आफ्नो प्रभावक्षेत्रमा तेस्रो मुलुक, त्यो पनि विचारधारात्मक कित्ताबाहिरको मुलुकलाई हावी हुन दिन अस्ट्रेलिया कदापि चाहँदैन । 

अमेरिकी नेतृत्व क्वाडको महत्त्वपूर्ण सदस्यका रूपमा अस्ट्रेलियाले चीनविरोधी खेमाको क्षेत्रीय नेतृत्व प्रदर्शन गर्ने सोच पनि लिएको हुन सक्छ । त्यसका साथै अस्ट्रेलिया र पश्चिमले सोलोमन आइल्यान्ड्समा शान्ति कायम गरी चीन नभई आफूहरू जिम्मेवार शक्ति भएको देखाउन खोजेको हुनुपर्छ । 

यस घटनाक्रमले अस्ट्रेलिया प्रभाव प्रदर्शनका लागि चीनसँग प्रतिस्पर्धा गरिरहेको छ भन्ने पनि स्पष्ट पार्छ । अस्ट्रेलियाले सोलोमन आइल्यान्ड्सलाई १३ वर्षसम्म विभिन्न शीर्षकमा गरी ३ अर्ब अस्ट्रेलियाली डलर सहायता गरिसकेको यहाँ स्मरणीय छ । उसको प्रभावक्षेत्रमा चीनले आर्थिक गतिविधि बढाएपछि ऊ पछि हट्ने कुरै भएन । 

अस्ट्रेलिया र चीनको प्रतिस्पर्धा हुनु सोलोमन आइल्यान्ड्सको विकासका लागि सुखद जस्तो देखिए पनि त्यहाँ व्याप्त भ्रष्टाचारका कारण विकासको फल सर्वसाधारणले भन्दा पनि सत्ताधारीले पाएको चाहिँ दुःखदायी छ । सरकार भ्रष्टाचारमा लिप्त भएर जनताको आधारभूत आवश्यकतालाई बेवास्ता गरिदिँदा अहिलेको दंगा भड्किने माहोल तयार भएको र त्यस दंगामा गरीब बस्तीका मानिसहरू संलग्न रहेको स्थानीय पर्यवेक्षकहरूले बताएका छन् । गरीबीको चपेटामा परेका जनतालाई ठूल्ठूला विकासे तामझामले छुन नसकेको यसबाट स्पष्ट हुन्छ । 

तर मुख्य कुरा, चीनलाई सोलोमन आइल्यान्ड्समा प्रभाव जमाउन नदिने रणनीतिअन्तर्गत दंगा गराइएका हुन् भन्न सकिन्छ । 

सोलोमन आइल्यान्ड्समा विकसित घटनाक्रमले साना र विश्व राजनीतिमा प्रभाव पार्न नसक्ने मुलुकहरूलाई ठूलै पाठ सिकाएको छ । बेइजिङको निकट हुन खोज्ने जुनसुकै मुलुकमा पनि पश्चिमले आन्तरिक संघर्ष चर्काउन सक्छ र पृथक्तावादी सोचलाई मलजल समेत गराउन सक्छ भन्ने कुरा यसबाट देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्