३१ असार २०८३, बुधबार

बुद्ध एयरको विमान भरतपुरमा आकस्मिक अवतरणअघि के भएको थियो ? एयर होस्टेसको अनुभव जस्ताको तस्तै

बुद्ध एयरको विमान भरतपुरमा आकस्मिक अवतरणअघि के भएको थियो ? एयर होस्टेसको अनुभव जस्ताको तस्तै

गत पुस १ गते दिउँसो चितवनको भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज उडेको केही समयमै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

अवतरणका क्रममा सबै यात्रु सुरक्षित थिए । बुद्ध एयरले जहाजको दुई इञ्जिनमध्ये बायाँ इञ्जिनमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गर्नुपरेको बताएको थियो ।

सो घटनालाई लिएर अहिलेसम्म पनि सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठिरहेका छन् ।

के भएको थियो सो दिन ? बुद्ध एयरकी एयर होस्टेस (विमान परिचारिका) अलिशा गुरुङको अनुभव जस्ताको तस्तै :

०००

मिति: १६ डिसेम्बर 

समय दिउँसो: १ः१५ बजे 

स्थान: भरतपुर विमानस्थल

जहाज: ९ एन–एईई

उडान नम्बर: ३६०

०००

जहाजमा १९ जना यात्रु रहेका थिए, जसमा १७ जना वयस्क, १ जना बच्चा र एक नाबालक । 

जहाजमा क्याप्टेन प्रमेश भक्त जोशी, को–पाइलट विजय महर्जन र म (अलिशा गुरुङ) थियौँ । 

त्यो दिन पहिलो उडान बिहान ६ः५० मा काठमाडौं–भरतपुरको थियो । त्यसपछि ८ः५० को उडान तुम्लिङटारको थियो । 

त्यो दिन त्यहाँ मौसम नखुलेर डिले भयो । त्यहाँ ढिला खुलेका कारण भरतपुर जान ढिलाइ भयो । 

भरतपुर पुग्ने शेड्युल ११ः५० को थियो । तर तुम्लिङटारबाट जान ढिला भयो । 

पछि भरतपुरबाट १ः१५ मा उडान गर्ने समय थियो ।  

भरतपुरबाट हामी काठमाडौं उडानका लागि तयार भयौँ । 

जहाज उडान हुनुपूर्व हामीले सबै चेकजाँच गर्‍यौँ ।

त्यसपछि १९ जना यात्रुलाई जहाजमा राख्यौँ ।

जहाज उड्नका लागि अब तयारी अवस्थामा थियो । 

त्यस्तै १ बजेर १५ मिनेट गएको थियो । जहाज उड्यो ।

जहाजले उडान शुरू गरेको केही मिनेटमै अस्वाभाविक आवाज आयो । 

जहाज भित्रका सबैले त्यो सुनेका थिए । मैले पनि सुनेँ । 

तर के भएको हो मलाई थाहा थिएन । 

आवाज आएपछि पनि म एकछिन चुपचाप नै बसें । सरहरू (चालक दलका सदस्य)ले केही नभनीकन मैले कुनै पनि जानकारी दिन मिल्दैन । 

उहाँहरूले केही नभनीकन म उठ्ने कुरा आएन । 

त्यसपछि मलाई पनि मेरो सरले अगाडि बोलाउनुभयो । म अगाडि गएँ ।

सरले जहाजमा प्राविधिक समस्या छ, हामी अब ल्याण्ड गर्छौँ भन्नुभयो । 

आवाज आएको केही समयभित्र नै मैले प्यासेन्जरलाई ब्रिफ गरें । 

जहाजको अवस्था सबै सामान्य नै थियो । जस्ट एकैपटक आवाज आयो, चलिरहेको इन्जिन बन्द भयो । 

मैले यात्रुलाई जहाजमा टेक्निकल प्रब्लम आएको छ, हामी भरतपुरमै ल्यान्ड गर्छौँ,’ भनेर ब्रिफ गरें । 

मैले उहाँहरू सबैलाई सामान्य प्रब्लम भएको र नआत्तिन अनुरोध गरिरहेको थिएँ । 

त्यसको केही मिनेटमै जहाज ल्याण्ड गरियो । 

०००

म बुद्ध एयरमा आवद्ध भएको साढे ४ वर्ष भयो । यस्तो घटना पहिलोपटक घटेको थियो । 

अहिले सामाजिक सञ्जालमा सो घटनालाई लिएर निकै चासो दिनुभएको छ ।

चासो दिनु स्वाभाविक पनि हो । तर ठूलै घटना भने घटेको होइन ।  

यो घटना घटेको पुस १ गते हो । घटना घटेपश्चात निकै नै नकारात्मक प्रचारहरू गरिएको छ । 

बुद्ध एयरले यात्रुहरूको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको छ । 

हामी सबै तालिमप्राप्त नै छौँ । 

यात्रुहरूलाई केही हानी नोक्सानी वा असुरक्षा होस् भन्ने कुरा हामीले सोच्नसम्म सक्दैनौँ । 

मैले साढे ४ वर्ष भयो बुद्ध एयरसँग काम गरेको । अहिलेसम्मको अनुभवका आधारमा म भन्छु, सुरक्षामा बुद्ध एयरले कहिल्यै कम्परमाइज गर्दैन । 

यात्रु महानुभावहरूलाई भन्छु कि कहिलेकाहीँ प्राविधिक समस्याहरू आउँछन्, जुन हामीले चाहेर नआउने होइन । यसबाट आत्तिनु पर्दैन । 

जहाजमा कहिलेकाहीँ टेक्निकल प्रब्लम आउनु नर्मल नै हो । यस्तो फल्टहरू सधैँ आउने होइन । 

जहाजमा दुईवटा इञ्जिन हुन्छ । तर हाम्रोमा जहाजले एउटा इञ्जिनले धान्न सक्ने लोड मात्रै बोक्छ । 

त्यसकारण एउटा इञ्जिनले पनि उडान अवतरण गर्न सक्छन् ।

(लोकान्तरसँगको कुराकानीमा आधारित)

salt training

कमेन्ट गर्नुहोस्