२२ असार २०८३, सोमबार

गठबन्धनमा कुनै समस्या छैन तर एमालेले खेल्न खोज्यो- प्रचण्ड

गठबन्धनमा कुनै समस्या छैन तर एमालेले खेल्न खोज्यो- प्रचण्ड
फाइल तस्वीर।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ पाँच दलीय गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनलाई थप मजबुत बनाउने प्रयास भइरहेको बताएका हुन् । 

‘गठबन्धनमा हामीले कुनै समस्या महसुस गरेका छैनौं । तर, परिवर्तनलाई उल्ट्याउन चाहने तत्त्व भने चुप लागेका छैनन्,’ प्रचण्डले भने, ‘जो संविधान खारेज गर्न चाहन्छ, यो परिवर्तन उल्ट्याउन चाहन्छ उसले गठबन्धन टुटाउन जे पनि गर्ने बताइरहेका छन् ।’

संसदको प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन टुटाउने हो भने अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग हुन सक्छ भनेर खुलेआम भन्दै आएको प्रचण्डले बताए ।

‘जिम्मेवार राजनीतिक दलले आफ्नो पोजिसन यो हो भनेर राख्नुपर्ने हो । तैंले यसो गरिस् भने म यसो गर्छु भन्न सुहाउने कुरा हो र ? गठबन्धन टुटाउने हो भने एमसीसी पारित गर्न सहयोग गर्न सकिन्छ नभए के हो के हो भन्ने कुरो प्रतिपक्षबाट आइरहेको छ,’ प्रचण्डले भने । 


एमालेले प्रतिनिधि सभा काम छैन भन्ने प्रमाणित गर्न दिनदिनै अवरोध गरिरहेको प्रचण्डले बताए ।

उनले भने, ‘प्रचण्डले संसदमा गाईजात्रा देखाइरहेको छ । आफूले दुई पटक विघटन गरेको संसद काम छैन भन्ने प्रमाणित गर्ने प्रयास गरिरहेको छ । यो पनि प्रतिगमनकै निरन्तरता हो ।’

अर्को प्रसंगमा प्रचण्डले एमसीसीबारे अमेरिकासँग निरन्तर संवाद भइरहेको र अनावश्यक दबाब नदिन भनेको बताए । 

‘एमसीसीबारे अमेरिकासँग पनि निरन्तरजस्तै संवाद भइरहेको छ । राष्ट्रिय सहमति बनाउने प्रयासमा छौं, त्यसको लागि समय लाग्न सक्छ । समयको लागि कुनै दबाब हुनु हुँदैन भनेको छु,’ प्रचण्डले भने । 

आइतवारबाट काठमाडौंमा शुरू हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबाट आउने निष्कर्षले पार्टीलाई पुनः जनतासँग जोड्ने उनले बताए । 

अहिले पार्टी जनताबाट टाढिएको महसुस भएको भन्दै प्रचण्डले फेरि जनताको माझमा जाने गरी राष्ट्रिय सम्मेलनबाट नीति र कार्यक्रम आउने बताए । 

salt training

कमेन्ट गर्नुहोस्