
काठमाडौंकी रैथाने ३२ वर्षीया सविता (नाम परिर्वतन) एउटा प्राइभेट कार्यलयमा काम गर्छिन् ।
विवाह भएकाे ७ वर्ष भयो । एक छोरा छन् । उनी नर्सरीमा पढ्छन् ।
काठमाडौंमै जन्मे/हुर्केकी, शिक्षित परिवारमा विवाह भएकी उनको घरमा श्रीमानसँगै सासूससुरा पनि छन् ।
श्रीमानले समेत प्राइभेट सेक्टरमै जागिर गर्छन् । परिवार राम्रैसँग चलिरहेको थियो ।
उनको नजिकै कान्छो ससुराको घर छ । कान्छो ससुराले समेत जागिर गर्छन् ।
अफिस पनि नजिक–नजिक भएकाले उनी कान्छो ससुरासँगै अफिससम्म जान्थिन् ।
यो सुखी र खुशी परिवारमा एक दिन युट्युबरको आँखा लाग्यो ।
युट्युबरहरू शिशिर अधिकारी, पिंकला कार्की र रोधन तामाङ लगायतले डलर कमाउने ध्याउन्नमा उनको ससुरा रामबहादुर (नाम परिर्वतन)को कान फुक्न थाले ।
‘तपाईंकी बुहारीको बानी ठीक छैन । कान्छो ससुरासँग लागेकी छ,’ भनेर चुक्ली लगाए ।
शुरूमा त उनले पत्याएनन् । कुरा लगाउने युट्युबरहरूलाई नै थर्काएर पठाए ।
तर, युट्युबरहरूले उनलाई कुरा लगाउन छाडेनन् । दिनदिनै पुगेर आज यसो गरी, हिजो यसो गरी भनेर सुनाउन थाले ।
गलत कुरालाई पनि पटक–पटक सुन्दा रामबहादुरलाई हो कि जस्तो लाग्न थाल्यो ।
उनले बुहारीका हरेक गतिविधिलाई शंकाको नजरले हेर्न थाले । उनलाई बुहारी गलत छिन् भन्ने नै लाग्न थाल्यो ।
युट्युबरहरू यही मौका कुरिरहेका थिए, उनीहरूलाई खोजेजस्तै भयो ।
त्यसपछि उनीहरूले ससुराको भिडियो लिए– के बोल्ने, कसरी बोल्ने सबैकुरा आफैं सिकाएर ।
‘मेरी बुहारी खत्तम छे । मेरो भाइसँग लागेकी छे’ भन्न लगाए । अझै सेन्सेसनल टाइटल राखेर युट्युबमा भिडियो अपलोड गरे ।
त्यसलाई दैनिक खबर युट्युब च्यानल चलाउने प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानल चलाउने शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानल चलाउने पिंकला कार्की र मोर्डन अनलाइन टीभी युट्युब च्यानल चलाउने रोधन तामाङले आफ्नो च्यानलमा भिडियो राखेर प्रचार गरे ।
उक्त भिडियोले एउटा खुशी र राम्रैसँग चलिरहेको परिवार तहसनहस भयो ।
परिवारका सदस्यहरूबीच नै एकअर्काको विश्वास रहेन भने सामाजिक प्रतिष्ठा पनि ध्वस्त भयो ।
श्रीमानले समेत शंका गर्न थालेपछि सविता एक्लो भइन् ।
यो कुरा गलत हो भनेर उनले जति चिच्याउँदा पनि पत्याउने कोही भएन ।
जिन्दगीबाट नै विरक्त भएकी सविता एक साथीको सल्लाहमा प्रहरीमा उजुरी दिन पुगिन् ।
‘हामीकहाँ आउँदा आफूले आत्महत्या गर्न २ पटक कोशिश गरेको बताउनुभएको थियो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘हामिले काउन्सिलिङ गरेर सबै घटना बताउन सक्ने अवस्थामा ल्याएका थियौं ।’
आफ्नो जीवन तहसनहस बनाउने को हो सवितालाई पत्तो थिएन । युट्युब च्यानलको नाम भने पत्ता लगाएकी थिइन् ।
त्यसपछि उनले आफ्नो बारेमा भिडियो राख्ने युट्युब च्यानल र तिनका सञ्चालकलाई किटानी गरेर प्रहरीमा जाहेरी दिइन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले तत्काल घटनाको अनुसन्धान थाल्यो ।
ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट ४ जनालाई पक्राउ गर्यो ।
ती महिलाको जाहेरीका आधारमा नै उनीहरूलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए ।
उनीहरूलाई प्रहरीले २१ दिन हिरासतमा राखेर अनुसन्धान गर्यो ।
त्यसपछि सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भयो ।
कात्तिक २० गते उनीहरू जिल्ला अदालतबाट ५० हजार धरौटीमा रिहा भए । मुद्दा विचाराधीन नै छ ।
गलत खबर फैलाउने र पीडा दिनेहरू अनुसन्धानको दायरामा त तानिए, तर सविताले गुमाएको सामाजिक जीवन फर्किएको छैन ।
उनी अहिले पनि अलग्गै बस्दै आएकी छन् । परिवारले अझै विश्वास गरिसकेका छैनन् ।
युट्युबरलाई छुटाउन मन्त्रीदेखि व्यापारीसम्मको फोन
साइबर ब्यूरोले उनीहरूलाई पक्राउ गरेपछि ब्यूरोमा प्रहरी अधिकारी, घरानियाँ व्यापारीदेखि मन्त्रीसम्मको फोन आएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।
‘एकजना बहालवाला एसपी आउनुभएको थियो । एकजना व्यापारीले त दिनसम्म प्रेसर दिनुभयो । सांसद र मन्त्रीसम्मबाट दबाब आयो’, अनुसन्धानमा खटिएका ती प्रहरी अधिकारीले भने, ‘हामीले त्यसलाई बेवास्ता गरेर अनुसन्धान अघि बढायौं र दोषीलाई कानूनी दायरामा ल्यायौं ।’
नाम चलेका कलाकार पनि उनीहरूलाई छुटाउन भन्दै आएको ब्यूरोका अधिकारीहरूले बताए ।
‘प्रदीप भण्डारी र शिशिर अधिकारीलाई छुटाउन राति १० बजे नाम चलेका कलाकारहरू पनि आउनुभएको थियो’, ती अधिकारीले भने, ‘उहाँहरूले पनि आफूले सके जति प्रेसर दिनुभएको थियो ।’
गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालय दुवैले व्यक्तिगत गोपनियता र सामाजिक प्रतिष्ठामा खलल पुर्याउने युट्युबरहरूलाई पक्राउ गरेर कारवाही गर्न निर्देशन दिएकाले कसैको दबाबलाई पनि वास्ता नगरी अनुसन्धान हुँदै आएको ब्यूरोले जनाएको छ ।