
प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डरका कारण विकास निर्माणको काममा बाधा भएको हो भने त्यसलाई फुकाउन तयार रहेको बताएका छन् ।
कर्मचारीहरूले अख्तियारको डरका कारण कामै नगर्ने अवस्था आएको हो भने त्यसमा सहजीकरण गरिने बताएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार मन्त्री र सचिवहरूलाई संयुक्त रूपमा निर्देशन दिँदै देउवाले कानूनमा भएका बाधा अड्चनहरू फुकाएर अगाडि बढ्ने बताए ।
'यदि विकास निर्माणको काममा विधि र प्रक्रियाका कारण समस्या छ वा अख्तियारका झञ्झट छ भने त्यसलाई फुकाइने छ । त्यसका लागि आवश्यक ऐन र कानून परिवर्तन गरिनेछ,' देउवाको भनाइ उद्धृत गर्दै एक सचिवले लोकान्तरसँग भने ।
उनले कर्मचारीहरूको क्षमता विकासमा पनि ध्यान दिने बताए ।
'कोही सक्षम र कोही असक्षम भन्ने हुँदैन । सबै सक्षम नै हो,' देउवाको भनाइ उद्धृत गर्दै उनले थपे, 'यदि कुनै कर्मचारीलाई क्षमता विकासको आवश्यकता छ भने तालिम दिने व्यवस्था गर्छु भनेर पनि सम्माननीयज्यूले भन्नुभएको छ ।'
जसरी पनि विकासका कामलाई गति दिनुपर्ने देउवाको भनाइ थियो ।