कजाकस्तानमा दंगा भड्किएपछि रुसी नेतृत्वको कलेक्टिभ सेक्युरिटी ट्रीटी अर्गनाइजेसनका लगभग २५ सय सैनिकहरू हिंस्रक प्रदर्शन रोक्न पुगेका छन् ।
उनीहरू कजाकस्तानमा कैयौं दिन वा हप्तासम्म बस्नेछन् ।सशस्त्र आपराधिक समूहहरूले आक्रमण गरेमा हतियार प्रयोग गर्ने अधिकार उनीहरूलाई दिइएको छ ।
उनीहरू कजाकस्तान पुगेपछि गोली चल्न बन्द भएको थियो । त्यसअघि बिहीवार दिनभरि अल्माटी शहरमा गोली र विस्फोटनको आवाज सुनिएको थियो ।
कजाकी राष्ट्रपति कासिम जोमार्ट तोकाएभले रुसी नेतृत्वको सीएसटीओलाई बोलाएपछि उनीहरू दंगा शान्त पार्न खटिएका हुन् ।
सीएसटीओका शान्तिसेनाले पहिलोपटक सदस्य राष्ट्रमा द्वन्द्व नियन्त्रण गर्न लागेको हो ।
अल्माटीका सडकहरूमा दर्जनौं प्रदर्शनकारीलाई बिहीवार गोली हानिएको थियो । प्रदर्शनकारीहरूले तीनजना प्रहरी अधिकृतको टाउको काटेको आरोप छ ।
शहरका सडकहरूमा जलेका गाडी, सरकारी भवन र बुलेटका खोकाहरू छरिएका थिए । राष्ट्रपति निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेर लुटपाट मच्चाएका थिए ।
दंगा भड्किएपछि एक हजारजनाभन्दा बढी मानिस घाइते भएको सरकारी अधिकारीहरूले जनाएका छन् । लगभग ४०० जनालाई अस्पतालमा भर्ना गरिएको छ र ६२ जना सघन उपचार कक्षमा छन् ।
अहिलेसम्म कतिजना प्रदर्शनकारी मारिए भनी खुलासा गरिएको छैन ।