पाकिस्तानको उत्तरी भागमा रहेको स्वात उपत्यकामा पुरातत्त्वविद्हरूले दुई हजार वर्ष पुरानो बौद्ध मन्दिर फेला पारेका छन् ।
यो क्षेत्र पहिला गान्धार इलाकामा पर्थ्यो र पछि अलेक्जेन्डरले यसमा आक्रमण गरेका थिए । त्यसपछि त्यहाँ बौद्ध र ग्रिसेली कलाको मिश्रण देखिएको थियो ।
पुरातत्त्वविद्हरूले यो बौद्ध मन्दिर ईसापूर्व दोस्रो शताब्दीको हुन सक्ने बताएका छन् । त्यतिखेर गान्धारमा ग्रिसेलीहरूको शासन थियो ।
भगवान् बुद्धको महापरिनिर्वाणको केही सय वर्षभित्रै यो मन्दिर बनाइएको प्रमाणित हुने पुरातत्त्वविद्हरूको कथन छ । भगवान् बुद्धको समय ईसापूर्व ५६३ देखि ईसापूर्व ४८३ सम्म मानिन्छ ।
पाकिस्तानको वर्तमान बारीकोट शहर नजिक मन्दिर फेला परेको हो ।
मन्दिर १० फीट अग्लो छ । त्यहाँ एक स्तुप पनि छ ।
मन्दिर परिसरलाई कैयौंपटक बनाइएको हो । त्यसभित्र रहेको सानो स्तुपमा बौद्ध भिक्षु बस्थे । कोठाहरू र सार्वजनिक आँगन पनि फेला परेका छन् ।
भेनिस विश्वविद्यालयका इतिहासकार मारिया ओलीभिएरीका अनुसार, मन्दिर संरचनाको रेडियोकार्बन डेटिङबाट यसको निर्माण समयको सही सूचना प्राप्त हुनेछ । तर बारीकोटमा रहेको यो मन्दिर स्पष्ट रूपमा गान्धार क्षेत्रमा पाइएका सबभन्दा प्राचीन बौद्ध मन्दिरमध्ये एक भउको देखिन्छ ।