
मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिक उखुबारीमा गाडेको अवस्थामा फेला परेका २ जनाको हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार अनिल कुमार मण्डललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेर मोरङ अनुसन्धानका लागि पठाएको छ भने मोरङमा अन्य २ जना पक्राउ परेको स्रोतले लोकान्तरलाई बतायो ।
उनीहरुले भारतीय अपराधिक समूह प्रयोग गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
ललितपुरमा शव फेला परेका ललितपुरको धापाखेलमा व्यवसायी तेह्रथुम घर भइ पेप्सीकोला बस्दै आएका मोहन लिम्बु र मोरङमा शव फेला परेका दुवै जनाले धेरै व्यक्तिहरुसँग पैसा दोब्बर गरिदिने भन्दै पैसा असुल गरेको समेत खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले लोकान्तरलाई बताए ।
काठमाडौंबाट पक्राउ परेका अनिलकुमार मण्डल र उनीहरुबीच लेनदेनको विषयमा विवाद भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
अपराध महाशाखाका अनुसार लिम्बुको शव पहिला अनिलकुमारले गोदामका लागि लिएको भाडाको घरमा गाड्न खोजिएको तर प्लास्टर बलियो भएका कारणले बाहिर गाडेको अनिलले प्रहरीलाई बताएका छन् ।
उनकै सूचनाको आधारमा प्रहरीले आज ललितपुरको गोदावरी नगरपालिका–१२ धापाखेलमा प्रमेश थापा मगरको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।
‘अनिलकुमार मण्डले दिएको सूचनाको आधारमा प्रहरीले खाल्डोमा रहेको शव फेला पारेको हो,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले लोकान्तरसँग भने ।