काठमाडौ १७ पुस - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीले राष्ट्रियताका लागि विचारको लडाईं लड्नुपर्ने बेला आएको बताएका छन् ।

एमाले स्कुल विभागद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा ‘नेपाल बुद्धिजीवि परिषद्को प्रशिक्षण समापन’ कार्यक्रममा बोल्दै उनले नेपालको राष्ट्रिय सन्दर्भमा महाभारत खडा गर्न थालिएकाले बुद्धिजीवीले विचारको लडाईं लड्नु पर्ने बताए ।
“अर्जुनसँग सधैँ धनुष हुन्थ्यो । उनले धनुषको प्रयोग महाभारतमा मात्र गरे”– उनले भने , “तपाई बुद्धिजीवीसँग पनि धनुषको रुपमा विचार रहेको छ । देशमा पनि महाभारतको स्थिति खडा गरिँदैछ । तपाईँहरु पनि विचारको गान्डीव धनुष प्रयोग गर्नुहोस् ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले आफ्नो निर्णय आफैँ गर्न पाउनुपर्ने भएता पनि अहिले पाइलैपिच्छे हस्तक्षेप भइरहेको बताए ।
तीन दिनसम्म भएको प्रशिक्षणमा ४२ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा १३ विषयमा प्रशिक्षण दिइएको स्कुल विभाग सचिव ईश्वरी रिजालले जानकारी दिए । रासस