
रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले युक्रेनका २ क्षेत्र लुहान्सक र दोनेत्स्कलाई स्वतन्त्र देशको मान्यता दिएपछि विवाद चर्किएको छ ।
रुस समर्थक पृथकतावादीको नियन्त्रण रहेको युक्रेनका यी दुवै क्षेत्रलाई रुसले छुट्टै देशको मान्यता दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्वतन्त्र देशको मान्यता दिएसँगै अब यी क्षेत्रमा रुसी सेना प्रवेश गरेर शान्ति कायम गर्न प्रयास गर्ने आदेश समेत पुटिनले दिएका छन् । रुसी राष्ट्रपति पुटिनको पछिल्लो कदमसँगै युक्रेन–रुस विवाद झन् उत्कर्षमा पुगेको छ ।
अमेरिकाले समेत राष्ट्रपति पुटिनको कदममा आपत्ति जनाएका छन् । युक्रेनमाथि हमला नगर्न अमेरिकाले रुसलाई चेतावनी दिएको छ । युक्रेनको सीमा क्षेत्रमा रुसले ९० हजार सैनिक तैनाथ गरेको छ ।