२२ असार २०८३, सोमबार

एमसीसीको विपक्षमा मतदान गरे माओवादी र समाजवादी सरकारमा नरहने गगनको संकेत

फागुन १०, २०७८
एमसीसीको विपक्षमा मतदान गरे माओवादी र समाजवादी सरकारमा नरहने गगनको संकेत

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले संसदमा टेबुल गरेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विपक्षमा मतदान गरेर गठबन्धनमा बसिरहने कुरा अनैतिक हुने बताएका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले अहिले एमसीसीको विपक्षमा मतदान गर्नुअघि सरकारको नेतृत्वमा रहँदा हामीबाट पाप भयो भनेर स्वीकार्नु पर्ने उनको तर्क छ । 

चितवनको भरतपुरमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले एमसीसीको विपक्षमा मतदान गरेर अन्य विषयमा सँगसँगै छौँ भन्नु अनैतिक हुने बताएका हुन् । 

‘जहाँसम्म गठबन्धन सरकारले ल्याएको प्रस्ताव छ, गठबन्धनमा सहभागी भएर त्यही गठबन्धन सरकारले ल्याएको प्रस्तावको खिलाफमा मतदान गरिसकेपछि, हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौं बाँकी विषयमा सँगसँगै जान्छौँ भन्ने कुरा अनैतिक र अराजनीतिक पनि हुन्छ,’ महामन्त्री थापाले भने, ‘नेपाल सरकारले गरेको सन्धिको खिलाफमा गर्छौं, त्यो दिन पेट दुखेकोले संसदमा नआएकोले भोलिदेखि आउँछौं भन्ने जस्तो नमिल्ने कुरा केही हुँदैन । कि यसको पक्षमा मतदान गरेर सँगै बसौँ, फरक–फरक ठाउँमा मतदान गर्ने भए सँगै बस्न सकिँदैन, सँगै बस्न हुँदैन भन्ने कुरा हो ।’ 

महामन्त्री थापाले एमसीसी सदनमा पुगिसकेकोले छलफलमा भाग लिने र सदनको प्रक्रियाबाट टुंगिने बताए । माधव नेपाल प्रधानमन्त्री भएको बेला एमसीसीमा सहयोग दिइयोस् भनेर प्रस्ताव गरिएको र त्यसपछिका सबै सरकार प्रक्रियामा सहभागी भएकोले सबैले स्वामित्व लिनुपर्ने उनले बताए । 

‘माधवदेखि झलनाथसम्म केपी ओलीदेखि प्रचण्डसम्मले आफ्नो सरकारको पालमा आफैंले अगाडि बढाएको प्रक्रियाबाट पछि हट्न मिल्दैन । उहाँहरूले के भनेर विपक्षमा मतदान गर्नुहुन्छ ?,’ थापाले भने, ‘कि उहाँहरूले भन्नुपर्‍यो सरकारमा बस्दा अज्ञानताका कारण हामीबाट पाप भयो भन्नु पर्‍यो या समर्थन,’ थापाले भने । 

फागुन ८ गते प्रतिनिधि सभामा पेश भएको एमसीसीमाथि बिहीवारदेखि छलफल प्रारम्भ हुँदैछ । गठबन्धनमा एमसीसीबारे सहमति जुट्न सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्