
पेट्रोलियम पदार्थमा निरन्तर घाटा भएपछि नेपाल आयल निगमले पाइपलाइन तथा भन्डारण निर्माणका काम अघि बढाउन सकेको छैन ।
वीरगञ्ज–लोथर, झापा–सिलगुढी पेट्रोलियम पाइपलाइन र सातै प्रदेशमा पेट्रोलियम भण्डारण निर्माण गर्ने तयारी थियो ।
एक सातालाई मात्रै पुग्ने पेट्रोलियम पदार्थको भण्डारण क्षमतालाई ९० दिनसम्मलाई पुग्ने बनाउन नीतिअनुसार पाँच वर्षअघिदेखि नै प्रक्रिया थालिएको थियो ।
सातवटै प्रदेशमा जग्गा खरिद गर्ने काम भए पनि गण्डकी र लुम्बिनी प्रदेशमा मात्र निर्माण प्रक्रिया अघि बढेको छ ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, “जहाँ काम सुरु भएको छ, त्यहीँ काम भइरहेको छ, अरू नयाँ ठाउँमा काम सुरु भएको छैन । ”
पोखरा र भैरहवाको काम अन्तिम चरणमा रहेको बताउँदै उनले निरन्तरको घाटाले निर्माणका योजनाहरूमा पुनः विचार गर्नुपर्ने अवस्थामा निगम पुगेको बताए । गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले खबर लेखेका छन् ।