
मोरङको सुन्दरहरैचा–५ का पर्शुराम घिमिरे भोजपुरको तत्कालीन खातेम्छा गाविस हाल साडानन्द नगरपालिकामा जन्मेका हुन् । गरीब परिवारमा भएका कारण नातिले दुःख पाएको भन्दै मावलीकी हजुरआमाले उनी २ वर्षको हुँदा नै सुन्दरहरैचा ल्याएका थिए ।
पर्शुरामका बुवा प्रेम कुमार रघुपती जुट मिल विराटनगरमा श्रमिकको काम गर्थे । छोराछोरीलाई धेरै पैसा कमाएर सुख दिने उद्देश्य बोकेर जुट मिल छाडेर हिँडेका प्रेम कुमार हालसम्म घर फर्केका छैनन् ।
त्यतिबेला पर्शुराम ७ वर्षका मात्रै थिए । बुवा घर नफर्केपछि खोज्दै मिलमा आउँदा काम छाडेको भन्ने सूचना पाए पनि हालको अवस्थाबारे केही पनि थाहा नभएको पर्शुराम बताउँछन् । पर्शुरामका ३ बहिनी छन् ।
गाउँमा १०० रुपैयाँ दिन कसैले पत्याएनन्
सानै उमेरमा बुवा पनि बेपत्ता भएपछि ४ सन्तानको पालनपोषण गर्ने अभिभारा आमा तुलसीमायाको काँधमा आइपरेको थियो । आर्थिक अवस्था कमजोर भएकाले साँझ–बिहानको छाक टार्न नै हम्मेहम्मे पथ्र्यो ।
आमाले अर्काको घरमा बिहान उज्यालो भूइँमा नखस्दैदेखि राति अबेरसम्म मेलापात गरेको झल्झली सम्झन्छन् घिमिरे । आमाले ढाँडमा बहिनीलाई च्यापेर ढिकीजाँतो गरेको पर्शुराम सम्झिन्छन् ।
गहभरि आँसु पार्दै उनी भन्छन्, ‘आमाले हामीलाई हुर्काउन, पढाउन, बढाउन गर्नुभएको संघर्ष सम्झँदा भक्कानो फुटेर आउँछ । जसको घरमा गएर काम गर्नुहुन्थ्यो, अबर पर्दा तिनैले १०० रुपैयाँ पनि सहयोग गर्दैन्थे ।’
घिमिरेका सन्तानले तिर्न सक्दैनन् भनेर गाउँका छरछिमेकीले भन्ने गरेको उनले बताए । ‘तिर्न सक्दैनन्’ भनेर पैसा नदिने परिवारहरूका सबैभन्दा नजिक यतिबेला घिमिरे नै भएका छन् । ‘धन देखेपछि महादेवका पनि ३ नेत्र बल्छन्’ भनेजस्तै उनले सघर्ष गरेर केही पैसा जोडेपछि उनको परिवारलाई सबैले विश्वास गर्न थालेका छन् ।

उद्योगमा १८ जनालाई रोजगारी
अरुको घरमा गएर काम गर्ने तुलसीमायाका छोरा पर्शुरामले अहिले अरुलाई रोजगारी दिएका छन् । उनकै नेतृत्वमा स्थापना भएको हसिना ग्रूप प्रालिमा १८ जना युवालाई रोजगारी मिलेको छ । उद्योगले सरसफाइ सामग्री उत्पादन गर्ने गर्छ ।
उद्योगमा फिनेल, निर, हारपिक, डिस्टील वाटर, भाँडा तथा लुगा धुने झोल साबुन लगायतका वस्तु उत्पादन हुने गरेका छन् । गाउँमै खोलिएको उद्योगले डेढ दर्जन युवालाई रोजगारी दिएको छ । उद्योगले उत्पादन गरेका सामग्री यतिबेला विश्वकै अग्लो सगरमाथादेखि नेपालकै होचो झापाको केचना कलनसम्म पुग्ने गरेको छ ।
दैनिक ३ वटा गाडीमा सामग्री पठाउने गरेको उनले बताए । वैदेशिक रोजगारमा जाने युवालाई थोरै मात्रामा भए पनि रोजगारी दिन सक्नुलाई उनले उद्योगको उपलब्धि मानेका छन् । उद्योगमा उनीसहित ५ जनाको संलग्नता छ ।

गोठालेदेखि जनप्रतिनिधिसम्म
घिमिरेले जीविकोपार्जन गर्नका लागि ठूलो संर्घष गरेका छन् । गाई फार्मदेखि बाख्रा फार्मसम्मको अनुभव समेत उनीसँग छ । आफैंले गाई फार्म खोलेर उत्पादन भएको दूध लगेर डेरी पसल खोलेका थिए उनले । त्यही गाई फार्मको आम्दानीले घर चलाउनेदेखि छोराछोरी पढाउने माध्यम बनेको उनी बताउँछन् । दूधको बजार भए पनि कामदार नपाएपछि उनले गाई पाल्न छाडेका हुन् । अरुले उत्पादन गरेको दूध गाउँगाउँबाट संकलन गरेर बेच्ने गरेको उनले बताए ।
गाई फार्मका लागि कामदार खोज्दा गोठालो बस्न नजाने भन्ने मात्रै भेटिएपछि गाई पाल्न छाडेको उनी बताउँछन् । व्यावसायिक रूपमा पाल्न छाडे पनि घरमा एक माउ गाई र एक माउ भैसी पालिरहेका छन् उनी ।
‘गाईवस्तुसँग खेल्ने बानी भइसकेको छ,’ उनले भने, ‘घरमा बाख्रा वस्तु छैनन् भने परिवारका सदस्य नभएको जस्तो अुनभव हुन्छ ।’ उनले बाख्राको फार्म समेत सञ्चालन गरेका थिए । ९२ वटासम्म बाख्रा पालेको उनी बताउँछन् । बिहान ४ बजे उठ्ने, डेरी जाने र ७ बजेसम्म डेरीको काम सकेर जंगल गएर घाँस ल्याउने काम गर्ने गरेको उनले बताए । उनी दिउँसोे जनताको काममा खट्ने गरेका छन् ।

उनी निर्वाचित जनप्रतिनिधि समेत हुन् । उनी सुन्दरहरैचा–५ का वडा सदस्य हुन् । २०४८ सालदेखि सक्रिय रूपमा राजनीतिमा लागेका घिमिरे गत स्थानीय चुनावमा वडा सदस्यमा निर्वाचित भएका हुन् । गाउँमै रहेको सुन्दरपुर सांस्कृतिक समूहमा गएर वामपन्थी गीत गाउने गरेका थिए उनले । वाद्यवादनमा राम्रो दखल राख्ने घिमिरेलाई पार्टीले राम्रै प्रयोग पनि गरेको थियो ।
नेताहरू गुरु बराल, हर्कमान तामाङ, लालबाबु पण्डितदेखि विनोद ढकालको चुनावी सभामा गीत गाउनेदेखि वाद्यवादनसम्म गर्थे उनी । उनले गाएको गीतसँगै चुनाव प्रचार गरेर जितेका उम्मेदवार मन्त्रीसम्म भइसकेका छन् तर पछिल्लो समय उनमा राजनीतिप्रति वितृष्णा बढ्दैछ । राजनीतिलाई नेताहरूले पेशा बनाएको देख्दा गाउँमा कार्यकर्ताले गरेको दुःख बेकार रहेछ भन्ने लाग्न थालेको उनी बताउँछन् ।