२४ जेठ २०८३, आइतबार
सफलता

गाउँलेले १०० रुपैयाँ दिन नपत्याएका पर्शुरामले दिँदैछन् १८ जनालाई रोजगारी

फागुन २१, २०७८
गाउँलेले १०० रुपैयाँ दिन नपत्याएका पर्शुरामले दिँदैछन् १८ जनालाई रोजगारी

मोरङको सुन्दरहरैचा–५ का पर्शुराम घिमिरे भोजपुरको तत्कालीन खातेम्छा गाविस हाल साडानन्द नगरपालिकामा जन्मेका हुन् । गरीब परिवारमा भएका कारण नातिले दुःख पाएको भन्दै मावलीकी हजुरआमाले उनी २ वर्षको हुँदा नै सुन्दरहरैचा ल्याएका थिए ।

पर्शुरामका बुवा प्रेम कुमार रघुपती जुट मिल विराटनगरमा श्रमिकको काम गर्थे । छोराछोरीलाई धेरै पैसा कमाएर सुख दिने उद्देश्य बोकेर जुट मिल छाडेर हिँडेका प्रेम कुमार हालसम्म घर फर्केका छैनन् ।

त्यतिबेला पर्शुराम ७ वर्षका मात्रै थिए । बुवा घर नफर्केपछि खोज्दै मिलमा आउँदा काम छाडेको भन्ने सूचना पाए पनि हालको अवस्थाबारे केही पनि थाहा नभएको पर्शुराम बताउँछन् । पर्शुरामका ३ बहिनी छन् । 

गाउँमा १०० रुपैयाँ दिन कसैले पत्याएनन्

सानै उमेरमा बुवा पनि बेपत्ता भएपछि ४ सन्तानको  पालनपोषण गर्ने अभिभारा आमा तुलसीमायाको काँधमा आइपरेको थियो । आर्थिक अवस्था कमजोर भएकाले साँझ–बिहानको छाक टार्न नै हम्मेहम्मे पथ्र्यो । 

आमाले अर्काको घरमा बिहान उज्यालो भूइँमा नखस्दैदेखि राति अबेरसम्म मेलापात गरेको झल्झली सम्झन्छन् घिमिरे । आमाले ढाँडमा बहिनीलाई च्यापेर ढिकीजाँतो गरेको पर्शुराम सम्झिन्छन् ।

गहभरि आँसु पार्दै उनी भन्छन्, ‘आमाले हामीलाई हुर्काउन, पढाउन, बढाउन गर्नुभएको संघर्ष सम्झँदा भक्कानो फुटेर आउँछ । जसको घरमा गएर काम गर्नुहुन्थ्यो, अबर पर्दा तिनैले १०० रुपैयाँ पनि सहयोग गर्दैन्थे ।’

घिमिरेका सन्तानले तिर्न सक्दैनन् भनेर गाउँका छरछिमेकीले भन्ने गरेको उनले बताए  । ‘तिर्न सक्दैनन्’ भनेर पैसा नदिने परिवारहरूका सबैभन्दा नजिक यतिबेला घिमिरे नै भएका छन् । ‘धन देखेपछि महादेवका पनि ३ नेत्र बल्छन्’ भनेजस्तै उनले सघर्ष गरेर केही पैसा जोडेपछि उनको परिवारलाई सबैले विश्वास गर्न थालेका छन् ।

उद्योगमा १८ जनालाई रोजगारी 

अरुको घरमा गएर काम गर्ने तुलसीमायाका छोरा पर्शुरामले अहिले अरुलाई रोजगारी दिएका छन् । उनकै नेतृत्वमा स्थापना भएको हसिना ग्रूप प्रालिमा १८ जना युवालाई रोजगारी मिलेको छ । उद्योगले सरसफाइ सामग्री उत्पादन गर्ने गर्छ ।

उद्योगमा फिनेल, निर, हारपिक, डिस्टील वाटर, भाँडा तथा लुगा धुने झोल साबुन लगायतका वस्तु उत्पादन हुने गरेका छन् । गाउँमै खोलिएको उद्योगले डेढ दर्जन युवालाई रोजगारी दिएको छ । उद्योगले उत्पादन गरेका सामग्री यतिबेला विश्वकै अग्लो सगरमाथादेखि नेपालकै होचो झापाको केचना कलनसम्म पुग्ने गरेको छ ।

दैनिक ३ वटा गाडीमा सामग्री पठाउने गरेको उनले बताए । वैदेशिक रोजगारमा जाने युवालाई थोरै मात्रामा भए पनि रोजगारी दिन सक्नुलाई उनले उद्योगको उपलब्धि मानेका छन् । उद्योगमा उनीसहित ५ जनाको संलग्नता छ । 

गोठालेदेखि जनप्रतिनिधिसम्म

घिमिरेले जीविकोपार्जन गर्नका लागि ठूलो संर्घष गरेका छन् । गाई फार्मदेखि बाख्रा फार्मसम्मको अनुभव समेत उनीसँग छ । आफैंले गाई फार्म खोलेर उत्पादन भएको दूध लगेर डेरी पसल खोलेका थिए उनले । त्यही गाई फार्मको आम्दानीले घर चलाउनेदेखि छोराछोरी पढाउने माध्यम बनेको उनी बताउँछन् । दूधको बजार भए पनि कामदार नपाएपछि उनले गाई पाल्न छाडेका हुन् । अरुले उत्पादन गरेको दूध गाउँगाउँबाट संकलन गरेर बेच्ने गरेको उनले बताए ।

गाई फार्मका लागि कामदार खोज्दा गोठालो बस्न नजाने भन्ने मात्रै भेटिएपछि गाई पाल्न छाडेको उनी बताउँछन् । व्यावसायिक रूपमा पाल्न छाडे पनि घरमा एक माउ गाई र एक माउ भैसी पालिरहेका छन् उनी ।

‘गाईवस्तुसँग खेल्ने बानी भइसकेको छ,’ उनले भने, ‘घरमा बाख्रा वस्तु छैनन् भने परिवारका सदस्य नभएको जस्तो अुनभव हुन्छ ।’ उनले बाख्राको फार्म समेत सञ्चालन गरेका थिए । ९२ वटासम्म बाख्रा पालेको उनी बताउँछन् । बिहान ४ बजे उठ्ने, डेरी जाने र ७ बजेसम्म डेरीको काम सकेर जंगल गएर घाँस ल्याउने काम गर्ने गरेको उनले बताए । उनी दिउँसोे जनताको काममा खट्ने गरेका छन् । 

उनी निर्वाचित जनप्रतिनिधि समेत हुन् । उनी सुन्दरहरैचा–५ का वडा सदस्य हुन् । २०४८ सालदेखि सक्रिय रूपमा राजनीतिमा लागेका घिमिरे गत स्थानीय चुनावमा वडा सदस्यमा निर्वाचित भएका हुन् । गाउँमै रहेको सुन्दरपुर सांस्कृतिक समूहमा गएर वामपन्थी गीत गाउने गरेका थिए उनले । वाद्यवादनमा राम्रो दखल राख्ने घिमिरेलाई पार्टीले राम्रै प्रयोग पनि गरेको थियो ।

नेताहरू गुरु बराल, हर्कमान तामाङ, लालबाबु पण्डितदेखि विनोद ढकालको चुनावी सभामा गीत गाउनेदेखि वाद्यवादनसम्म गर्थे उनी । उनले गाएको गीतसँगै चुनाव प्रचार गरेर जितेका उम्मेदवार मन्त्रीसम्म भइसकेका छन् तर पछिल्लो समय उनमा राजनीतिप्रति वितृष्णा बढ्दैछ । राजनीतिलाई नेताहरूले पेशा बनाएको देख्दा गाउँमा कार्यकर्ताले गरेको दुःख बेकार रहेछ भन्ने लाग्न थालेको उनी बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्