०२ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

चुनावको मुखमा सरकार ताक्दै लोसपा, प्रचण्डले खोजे हैसियतअनुसारको भाग

चुनावको मुखमा सरकार ताक्दै लोसपा, प्रचण्डले खोजे हैसियतअनुसारको भाग

‘लोकान्तर राउण्ड अप’मा पाठकहरुलाई स्वागत छ । सधैँझै आज पनि हामी  बितेका २४ घण्टाका प्रमुख घटनाक्रमसहितको नियमित प्रस्तुति ‘लोकान्तर राउण्ड अप’ लिएर आएका छन् । 

चुनावको मुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सरकारमा जान इच्छुक देखिएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बताएका छन् ।
अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भइरहेको बताए ।
मंगलवार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागिताका लागि आफूहरूले नागरिकता समस्याको समाधान र मधेश आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता लिनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको पनि स्पष्ट पारे ।
००००
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलिरहेको बताएका छन् । 
मन्त्रिमण्डल पुनर्गठन हुँदा माओवादीले आफ्नो हैसियतअनुसारको सिट पाउनुपर्ने उनले बताए । 
पार्टी प्रशिक्षणको सिलसिलामा मधेश प्रदेशको जनकपुर पुगेका प्रचण्डले मंगलवार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्रिपरिषद्मा हेरफेरसहित पूर्णता दिनेबारे कुरा भइरहेको बताएका हुन् । 

‘मन्त्रिपरिषद् हेरफेरको कुरा छ, औपचारिक टुंगिएको छैन । केही नयाँ आउने सम्भावना छ,’ पत्रकारको एक प्रश्नको जवाफमा प्रचण्डले भने, ‘प्रधानमन्त्रीले पार्टीको महाधिवेशनसँग र माधवजीले भर्खर पार्टी बनेकोले सहयोग गर्नुपर्छ भनेकोले हामीले त्याग गरेका थियौँ । अहिले चाहिँ हेरफेर हुने स्थिति आयो भने हैसियतअनुसार पाउनुपर्छ भनेका छौं, त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।’
००००
आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा गर्नुपर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
 
सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले कारण देखाऊ आदेशसहित कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
 
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सोमवार दर्ता गराएको रिटमाथि मंगलवार सुनुवाइ भएको थियो ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन बीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् ।
समाजवादी प्रेस संगठन नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मंगलवार अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गरे ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका  स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले देश र संविधानको रक्षा तथा स्थायित्वका लागि माओवादीले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढेको बताएका छन् ।
पोखरामा मंगलबारदेखि सुरु भएको माओवादी केन्द्र गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उनले कांग्रेससँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र सङ्घीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको उल्लेख गरे ।
००००

मोरङको लेटाङमा सोमवारदेखि लगाइएको कफ्र्यू खुकुलो बनाइएको छ । मंगलवार जिल्ला सुरक्षा समितिको बैठक बसेर कफ्र्यू खुकुलो बनाइएको हो ।
बिहान १०–४ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यू लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशिराज दाहालले बताए ।
लेटाङ नगरपालिकाले सर्वदलीय बैठक राखेर कफ्र्यू खुकुलो बनाउन सहजीकरण गरिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाएको थियो । 
आइतवार साँझ महिला प्रहरीको ज्यान जाने गरी भएको आन्दोलनपछि कफ्र्यू लगाइएको थियो । सोमवार बिहान ७ बजेदेखि अर्को निर्णय नहुञ्जेलसम्मका लागि भन्दै लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कफ्र्यू आदेश जारी गरेको थियो ।
००००
अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीले मंगलवार एक कार्यक्रम गर्दै पार्टीमा स्वागत गरेका हुन् । मानन्धर यसअघि डा बाबुराम भट्टराईले बनाएको ‘नयाँ शक्ति’ पार्टीमा केन्द्रीय सदस्य भएकी थिइन् । 
भट्टराईले नयाँ शक्तिलाई संघीय समाजवादी पार्टीमा मर्ज गरेपछि मानन्धर राजनीतिबाट अलग भएर बसेकी थिइन् । त्यस्तै पूर्वमन्त्री प्रेमबहादुर सिंहलगायतलाई पनि ओलीले पार्टी प्रवेश गराएका छन् । 
००००
नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जर्बजस्ती करणी कसुरमा पलविरुद्ध मंगलवार मुद्दा दर्ता गरेको हो ।
००००
मधेश प्रदेश सभाको बैठक विशेष कारण देखाउँदै पुनः सारिएको छ ।  प्रदेश सभा सचिवालयले विशेष कारण भन्दै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी बैठक सारेको हो । बैठक चैत ९ गते बुधवारका लागि आह्वान गरिएको थियो ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार रेल्वे अध्यादेश जारी गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेकी हुन् ।
००००
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी मंगलवार एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलवार प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रमबाट दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो ।
००००
आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा मंगलवार नेपालले ७ विकेटको जीत निकालेको छ । 
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दा नेपाल ७ विकेटले विजयी भएको हो । नेपालको जीतमा कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय इनिङ खेले ।
००००
पछिल्लो २४ घण्टामा ४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५९४ नमूना परीक्षणमध्ये ३५ पीसीआर र ९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 
पछिल्लो केही दिन यता संक्रमितको संख्या २ अंकमा मात्रै सीमित बनेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु भएको छ । 
हालसम्मको मृत्यु संख्या ११ हजार ९५१ छ । मन्त्रालयका अनुसार थप ४८१ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर २ हजार ६८८ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्