
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको प्रारम्भिक सुनुवाइ नै हुन सकेको छैन ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा दायर रिटको प्रारम्भिक सुनुवाइ दुई दिनदेखि हुन सकेको छैन । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा राखिएको सो रिट दोस्रो दिन सोमबार पनि हेर्न नभ्याउने सूचीमा राखियो ।
गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीन डीआईजीलाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो । सो बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै उनीहरू सर्वोच्च अदालत पुगेका हुन् । रिटमा उनीहरूले कनिष्ठ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् ।
सर्वोच्च जानुअघि उनीहरूले बढुवाविरुद्धको सुनुवाइ समिति पुगेर उजुरी दिएका थिए । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेको थियो । त्यसपछि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बढुवा गर्ने निर्णय गरेको थियो । वरीयता क्रममा पन्त तेस्रो, सिंह छैटौं र धानुक आठौं स्थानमा थिए । रोलक्रम मिचेर आफूभन्दा कनिष्ठलाई डीआईजी बढुवा भएको भन्दै तीन जनाले सर्वोच्चमा रिट दिएका हुन् । राजधानी दैनिकमा खबर छ ।