२१ असार २०८३, आइतबार

पेट्रोलियम पदार्थको कारोबारबाट राजस्व संकलन बढाउँदै सरकार

बैशाख १०, २०७९
पेट्रोलियम पदार्थको कारोबारबाट राजस्व संकलन बढाउँदै सरकार
प्रतिकात्मक तस्वीर

चालू आर्थिक वर्षको पहिलो ९ महिनामा पेट्रोलियम पदार्थको कारोबारबाट ८७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

नेपाल आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा १ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको इन्धन आयात गरेकाले ८७ अर्ब ३४ करोड ४९ लाख ९० रुपैयाँ राजस्व संकलन भएको हो ।

सो अवधिमा २२ लाख ३६ हजार ६७७ किलोलिटर इन्धन (डिजल, पेट्रोल, हवाई इन्धन, मट्टीतेल र खाना पकाउने ग्यास) आयात भएको थियो । 

इन्धन कारोबारबाट आव २०७७/७८ मा ९७ अर्ब २० करोड ४१ लाख २१ हजार र आव २०७६/७७ मा ६६ अर्ब ८८ करोड ६९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन कारोबारमा निगमले मासिक १२ अर्ब रुपैयाँ राजस्व तिर्ने गरेको बताए ।

पेट्रोलियम पदार्थ आयात र प्रयोगमा विभिन्न शुल्क र कर लगाइएको छ । यी सबै भन्सार विन्दुमा नै राजस्व संकलन हुने गर्छ ।

पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार शुल्कबापत ३१ अर्ब २६ करोड ६० लाख ९ हजार, पूर्वाधार शुल्कबाट १८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ संकलन भएको निगमले जानकारी दिएको छ । सो अवधिमा सडक मर्मत दस्तुरबाट ४ अर्ब ८२ करोड ३० लाख ९६ हजार, प्रदूषण कर २ अर्ब ७९ करोड ७९ लाख ५ हजार रुपैयाँ संकलन भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) ३० अर्ब ९९ करोड १० लाख ७ हजार रुपैयाँ संकलन भएको निगमले जानकारी दिएको छ । निगमले पेट्रोलमा भन्सार महशुल २५ रुपैयाँ २० पैसा, सडक मर्मत दस्तुर ४ रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ, मूल्य स्थिरीकरण कोषमा १ रुपैयाँ ६० पैसा, वातावरण शुल्क १ रुपैयाँ ५० पैसा, भ्याट १८ रुपैयाँ ४१ पैसा गरेर प्रतिलिटरमा ६० रुपैयाँ राजस्व संकलन हुने गरेको छ ।  

डिजलमा भन्सार महसुल १२ रुपैयाँ, सडक मर्मत दस्तुर २ रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ, मूल्य स्थिरीकरण कोषमा १ रुपैयाँ ४३ पैसा, वातावरण शुल्क १ रुपैयाँ ५० पैसा, मूल्य अभिवृद्धि कर १६ रुपैयाँ ४५ पैसा गरेर प्रतिलिटर डिजलमा ४३ रुपैयाँ ४१ पैसा राजस्व संकलन हुने गरेको छ ।

हवाई इन्धनमा भन्सार महसुल २ रुपैयाँ १० पैसा, मूल्य स्थिरीकरण कोषमा १ रुपैयाँ ५६ पैसा, मूल्य अभिवृद्धि कर १७ रुपैयाँ ९५ पैसा गरेर प्रतिलिटरमा २१ रुपैयाँ ६४ पैसा राजस्व संकलन हुने गरेको निगमले जनाएको छ ।

खाना पकाउने ग्यास (एलपीजी) मा भन्सार शुल्कबापत १०२ रुपैयाँ ४३ पैसा, मूल्य स्थिरीकरण कोषमा १६ रुपैयाँ, मूल्य अभिवृद्धि कर १७९ गरेर प्रतिसिलिन्डर ग्यासमा २९७ रुपैयाँ कर लिने गरिएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले हाल पेट्रोल प्रतिलिटरमा २२ रुपैयाँ ९८ पैसा, डिजलमा २८ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ९३२ रुपैयाँ घाटा रहेको छ । 

चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म १ खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपैयाँ बराबरको २२ लाख ३६ हजार ६७७ किलोलिटर इन्धन आयात भएको छ । आव २०७७/७८ मा १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले इन्धन आयातमा उल्लेख्य वृद्धि भएको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्