
एमाले अध्यक्ष केपी शर्मा ओलीले गगन थापालाई जवाफ फर्काएका छन् । बुधबार ‘बालकोटमा गएर ओलीलाई ट्युसन पढाउँछु’ भन्ने थापालाई ओलीले ट्युसन क्लास चलाउँछु भन्नेलाई भाइबहिनीहरू मिलाइदिउँला भन्दै कटाक्ष गरे । अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीय निर्वाचन घोषणापत्रमा वहसका लागि आउन चुनौति दिए । उनले नेपाली काँग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरुले महिला भनेर श्रीमती र छोरी उठाएको बताए ।
‘नेकपा एमालेको स्थानीय निर्वाचनको घोषणापत्रको बिरुद्धमा कोही बहसमा आउँछ भने आउनुस् स्वागत गर्दछौँ । कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु पनि तयार छन् भने हामी पनि यसो, हाम्रा लागि त्यो ठूलो कुरा भएन, भर्खर भर्खर पास गरेका भाइबहिनीहरू थुप्रो छन् यस्तो ट्युसन क्लासवालाहरुस्ँग मुकाबिला गर्ने भिडाइदिउँला केही छैन । तर हामी वहस गर्न तयार छौँ । नेपाली काँग्रेस विचार शुन्य, गन्तव्य हीन, विचारको हिसावले कुहिरोको काग हो । कुहिरोका कागको उद्देश्य भनेको पेट भर्ने हो । नेकपा एमाले कसैका छोरी,बुहारी काँधमा बोकेर हिँडेको पार्टी होइन, नातावादी कृपावादी पार्टी होइन । कसैले महिला उम्मेदवार दिएँ भन्छ होला श्रीमती उठाउँदा महिला त परिहाल्छ नि । छोरी उठाएपछि महिला त परिहाल्छ नि ।’ उनले भने ।
अध्यक्ष ओलीले नेकपा एमालेले नै महिलाको अस्तित्वको रक्षा गरेको बताए ।