
रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका-११, तल्लोसेरामा वैशाख १९ गते आफ्ना कार्यकर्तामाथि भएको सांघातिक हमलाको घटनाप्रति नेकपा एमालेले घोर भर्त्सना गरेको छ ।
मंगलवार विज्ञप्ति जारी गर्दै एमालेले घटनाको छानबिन गरी दोषीमाथि अविलम्ब कानूनी कारबाही गर्न माग गरेको छ ।
निर्वाचन प्रचारका लागि घरदैलो कार्यक्रममा नेकपा (माओवादी केन्द्र)सम्बद्ध वाईसीएलका कार्यकर्ताले सांघातिक हमला गरेको एमालेले जनाएको छ ।
यस्तै घरदैलो कार्यक्रममा सहभागी महिला कार्यकर्ता ३८ वर्षीया ठुँटी बुढा मगरलाई अपहरण गरेर एक हप्ता बन्धक बनाई शारीरिक र मानसिक यातना दिएर क्रुरतापूर्वक हत्या गरिएको पनि एमालेको आरोप छ ।
‘घटनामा संलग्न पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ निवासी नेकपा (माओवादी) केन्द्र सम्बद्ध वाईसीएलका कार्यकर्ताहरू कुमार सिंह, कृष्णबहादुर बुढा (किसान), विष्णु बुढा, महेन्द्र बुढा, जयकुमार बुढा, विभिचन बुढा, जनक कामी, मैते कामीलगायत करीब ४०/४५ जनाको समूहलाई छिटोभन्दा छिटो गिरफ्तार गर्न र यथाशीघ्र घटनाको छानबिन गर्न जोडदार माग गर्दछौं,’ महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै यस्ता घटना फेरि दोहोरिन नदिन सरकारसँग एमालेले माग पनि गरेको छ ।
‘निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने दायित्व बोकेको सत्तारुढ गठबन्धन भय त्रास फैलाई हत्या–हिंसाको सहारामा धाँधली गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उद्दत रहेको स्पष्ट छ । यसको नेकपा (एमाले) घोर भर्त्सना एवम् निन्दा गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।