
लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरू मतदानको लागि गृहजिल्ला आइपुगेका छन् ।
आफ्ना उम्मेदवारलाई जिताउन केही नेताहरू विगत १० दिनदेखि गृहनगरमा छन् भने केही नेताहरू बिहीवारसम्म जिल्लामा आइपुगेका हुन् ।
प्रभावशाली नेताहरूले भोलि (शुक्रवार) बिहान स्थानीय तह निर्वाचनमा मतदान गर्दैछन् ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले शुक्रवार बिहान ७ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान स्थलमा मतदान गर्नेछन् ।
त्यस्तै गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ को ज्योति आधारभूत स्कूलमा पहिलो मतदान गर्नेछन् ।
त्यस्तै एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री घनश्याम भुसालले रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को विश्वशान्ति आधारभुत स्कूलको मतदान स्थलबाट मतदान गर्नेछन् ।
एमाले महासचिव तथा पूर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को जनता विद्यापीठ मावि विजौरीमा मतदान गर्नेछन् ।
एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४ बलेटक्सारको ज्ञवा माविबाट मतदान गर्नेछन् ।
त्यस्तै एमाले सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिका वडा नम्बर ४ रामराज्य माविबाट मतदान गर्नेछन् ।
एमाले सचिव छविलाल विश्वकर्माले रुपन्देहीको बुटवल ११ को लुम्बिनी वाणिज्य क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
त्यस्तै एमालेका अर्का सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा ९ को अर्घारजस्थल माविबाट मतदान गर्नेछन् ।
कांग्रेसका युवा नेता चन्द्र भण्डारीले गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुंगाको जनजागृति माविमा मतदान गर्नेछन् ।