
कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा कर्ण कुँवर विजयी भएका छन् ।
कैलाली उद्योग वाणिज्य संघको पूर्व अध्यक्षसमेत रहेका कुँवर नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुँवर ५ हजार ८४२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार कांग्रेसका शेरबहादुर कठरियाले ४ हजार १८६ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गणेशराज गिरी विजयी भएका छन् । गिरीले ४ हजार ५६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी इन्दु कठरिया ४ हजार २५५ मतमा सीमित भइन् ।
के थियो उनको प्रतिबद्धता ?
चुनावी प्रचारप्रसारमा रहेका बेला कुँवरले आफूले सरकारी सुविधा केही पनि नलिने घोषणा गरेका थिए । आफू गाउँपालिकाको अध्यक्ष पदमा आफू निर्वाचित भए गाउँपालिकाको अध्यक्षको हैसियतले पाउने कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका हुन् ।
उनले पत्रकार सम्मेलन नै गरेर अध्यक्षले पाउने मासिक ३० हजार रूपैयाँ बराबरको सुविधाका साथै भ्रमण भत्ता, सञ्चार, अतिथि सत्कार, अनुगमन र गाडी सुविधालगायत कुनै सेवा सुविधा नलिने बताएका थिए ।
यतिमात्रै होइन सो बापत पाउने रकम अक्षयकोष स्थापना गरी गाउँपालिकाका ६ वटै वडाका टुहुरा, असहाय र विपन्न वर्गका बालबालिका र उनका अभिभावकहरूका लागि गाँस, बास, कपास र शिक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।
आफू ५ वर्ष जनताको सेवक भएर ‘समाजलाई रुपान्तरण गर्न भ्रष्टाचारमुक्त पालिका, आर्थिक पारदर्शिता सुशासन, समृद्धि र विकासको आधार, बर्दगोरियामा एमालेको सरकार’ भन्ने मूल नारासहित घरदैलो अभियानमा थिए । गाउँपालिकालाई नमूना पालिका बनाउने पनि उनको सार्वजनिक घोषणा छ ।
कैलालीमा होटल व्यवसाय, काठ सःमिल व्यवसाय र इँटा व्यवसाय गर्दै आएका कुँवर कैलाली उद्योग वाणिज्यका पूर्व अध्यक्ष मात्रै होइनन्, बर्दगोरियास्थित बौनिया बजार व्यवस्थापन समितिमा २ कार्यकाल अध्यक्ष रहिसकेका छन् ।