
मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ ।
जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार पक्राउ गरेको हो ।
पत्नीको हत्या गरेको ५ दिनपछि दिनेश पक्राउ परेका हुन् । दिनेशले जेठ ६ गते राति ९ बजे धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पत्नीको हत्या गरेर दिनेश फरार भएका थिए । प्रहरीले उनलाई लुकीछिपी बसिरहेको अवस्थामा विराटनगरबाट पक्राउ गरेको छ । घरायसी विवाद हुँदा श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । दिनभर घरभन्दा बाहिर रहेका दिनेशले घर आएपछि सुतेकी पत्नीलाई चिर्पट र रड प्रहार गरी हत्या गरेको श्रेष्ठले बताए ।
पक्राउ परेका दिनेशलाई मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरू गरेको डीएसपी श्रेष्ठले जानकारी दिए ।