
नेपाली सेनाले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे दुई पटक पत्र पठाएको स्वीकार गरेको छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको पत्र सार्वजनिक भएसँगै सेनाले यसबारे स्वीकार गरेको हो । सेनाले बुधबार विज्ञप्ति जारी गरेर नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी हुन नसक्ने बताएको थियो ।
विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सेनाले विज्ञप्तिमार्फत यस्तो बताएको थियो ।
सेनाले अमेरिकासँग एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको दाबी गरेको थियो ।
तर, त्यसको भोलिपल्टै बिहीबार क्षेत्री ले अमेरिकालाई पत्र पठाएको खुलासा भएको थियो ।
त्यसपछि सैनिक प्रवक्ता नारायण सिलवालले एसपीपीमा सहभागी हुन सन् २०१५ मा पत्राचार गरेको स्वीकार गरेका हुन् । सन् २०१७ पनि २०१५ मा जस्तै पत्र पठाइएको उनको भनाइ छ ।
तर त्यतिबेला कुनै सम्झौता वा सैन्य गठबन्धनका लागि नभई पूर्णतः विपद व्यवस्थापनको क्षेत्रमा सहयोगका लागि पत्राचार गरिएको उनको दाबी छ । उनले सेना कुनै पनि सैन्य गठबन्धनको पक्षमा नरहेको उनले जिकिर गरे ।