
किसानलाई धानबालीका लागि आवश्यक पर्ने डिएपी र पोटास मल कृषि सामग्री संस्थान प्रदेश कार्यालय विराटनगरले वितरण गरिरहेको छ । कार्यालयका प्रमुख नरेश सापकोटाका अनुसार प्रदेश सरकार र स्थानीय कोटाअनुसार विसं २०७८ चैतदखि अहिलसम्म डिएपी एक हजार १८६ मेट्रिक टन र पोटास ७६ मेट्रिक टन वितरण गरिएको जानकारी दिए ।
संस्थानले प्रदेशका १४ जिल्लामा स्थानीय तहको सिफारिसका आधारमा सहकारीमार्फत किसानलाई उक्त मल वितरण गरिएको हो । संस्थानले विराटनगरसहित शाखा कार्यालय गाईघाट, धनकुटा, इटहरी, विर्तामोड र इलाममार्फत मल वितरण गरेको सूचना अधिकारी होमप्रसाद पराजुलीले बताए।
विसं २०७८ माघदेखि युरिया मल मौज्दातमा अभावका कारण वितरण गर्न सकेको छैन भने आगामी असारको अन्तिम हप्तासम्मका युरिया मल प्राप्त भई वितरण गर्न सकिने प्रमुख सापकोटाले जानकारी दिए । प्रदेशमा कृषकलाई वार्षिकरूपमा धानका लागि युरिया ४० हजार मेट्रिक टन, डिएपी ३० हजार मेट्रिक टन र पोटास सात हजार मेट्रिक टन उपलब्ध भएमा मलको कुनै समस्या नहुने सूचना अधिकारी पराजुलीले बताए ।
संस्थानमा हाल डिएपी ६४७ मेट्रिक टन र पोटास १०१३ मेट्रिक टन मौज्दात रहेको छ । संस्थानले सहकारीलाई डिएपी ५० केजीको रु दुई हजार २०० र पोटास ५० केजीको रु एक हजार ६०० मा बिक्री वितरण गरिरहेको छ । संस्थानले आफ्नो मल बिक्री वितरणको हिसाब तुरुस्त राख्नुका साथै अनलाइनमार्फत मन्त्रालयलाई जानकारी दिने गरेको छ ।
यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनले यही असार १ गतेदेखि सहकारीमार्फत प्रदेशका आठ जिल्लामा डिएपी मल वितरण गरिएको छ । कर्पोरेशनका सूचना अधिकारी विष्णुप्रसाद न्यौपानेले सुनसरीका ८४, मोरङका २१२, सङ्खुवासभाका १४, तेह्रथुमका १४, धनकुटाका १० र भोजपुरका छ सहकारीमार्फत उक्त मल बिक्री वितरण गरिरहेको जानकारी दिए ।
कर्पोरेशनलाई मन्त्रालयको उपलब्ध गराएको कोटाअनुसार उक्त मल वितरण गरिरहेको जानकारी उनले दिए । कर्पोरेशनले यही असारको अन्तिम सातामा युरिया मल वितरण गर्नका लागि स्थानीय तहलाई पत्राचार गर्ने कार्य भइरहेको छ । कार्यालयले अहिले दैनिकरूपमा चार हजार केजी डिएपी मल वितरण गरिरहेको छ ।